गृहपृष्ठ अन्तरास्ट्रिय खबर पाकिस्तानको स्वातमा प्रहरी चौकीबाहिर आत्मघाती विस्फोट, १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

पाकिस्तानको स्वातमा प्रहरी चौकीबाहिर आत्मघाती विस्फोट, १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

आइतबार साँझ पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा रहेको काबल प्रहरी चौकी बाहिर आत्मघाती बम विस्फोट गरिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार विस्फोट प्रहरी चौकी बाहिर भएको हो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले यो आत्मघाती हमला भएको पुष्टि गरेका छन्।

मोहसिन नक्वीले बहादुर प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर आत्मघाती हमलाकारीलाई प्रहरी चौकीभित्र प्रवेश गर्नबाट रोकेको र ठुलो क्षति हुनबाट जोगाएको बताएका छन्।

स्वातमा बढ्दो आतंकवादी घटनाविरुद्ध स्थानीयले ‘शान्तिपूर्ण विरोध’ गरिरहेका बेला विस्फोट भएको बताइएको छ।

रेस्क्यु ११२२ का अनुसार १५ भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीयले उक्त क्षेत्रमा शान्ति मार्च चलिरहेका बेला प्रहरी चौकीनजिकै विस्फोट भएको बताएका छन्।

गृहमन्त्री मोहसिन नक्वीले आक्रमणको कडा निन्दा गरेका छन् र ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार