गृहपृष्ठ Featured घरमा बगैँचा भएका मानिसमा मधुमेहको जोखिम कम : अध्ययन

घरमा बगैँचा भएका मानिसमा मधुमेहको जोखिम कम : अध्ययन

अस्ट्रेलियामा भएको एक अध्ययनले घरमा बगैँचा भएका वा धेरै पार्कहरूको नजिक बसोवास गर्ने मानिसहरूमा ‘टाइप टु’ मधुमेहको जोखिम कम हुने देखाएको छ । यसले शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई उजागर गरेको अध्ययनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अध्ययनअनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएका मानिसहरूमा ‘टाइप टु’ मधुमेह हुने जोखिम ६.८ प्रतिशतले कम पाइएको छ । यस्तै धेरै पार्कहरूको नजिक बसोवास गर्ने मानिसहरूमा पनि यो रोग लाग्ने सम्भावना ५.७ प्रतिशतले कम देखिएको छ ।

आवाससम्बन्धी वर्तमान चुनौतीहरूका कारण उच्च घनत्व भएका आवासीय भवनहरूको निर्माण बढिरहेकोले हरित क्षेत्रहरूको योजना बनाउँदा जनस्वास्थ्यसम्बन्धी पक्षहरूलाई प्राथमिकता दिनुपर्ने कुरा अनुसन्धानले देखाउने युनिभर्सिटी अफ क्विन्सल्यान्डको स्कुल अफ पब्लिक हेल्थका प्रमुख अनुसन्धानकर्ता चिनोन्सो ओडेबेआतुले बताउनुभयो ।

‘बीएमसी पब्लिक हेल्थ’ नामक जर्नलमा प्रकाशित अध्ययनले ‘युके बायोबैंक’ मा आबद्ध ‘टाइप टु’ मधुमेह भएका १९ हजारभन्दा धेरै सहभागीहरूको तथ्याङ्कको विश्लेषण गरेको थियो । साथै सहभागीहरूको घरको ठेगाना वरिपरि—विशेषगरी ८०० मिटरको दायराभित्र रहेका आवासीय बगैँचा तथा पार्कहरूलगायतका—हरित क्षेत्रहरूको उपलब्धताको मूल्याङ्कन गरेको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार घरको बगैँचा र नजिकैका पार्कहरूले शारीरिक गतिविधिलाई बढावा दिने, ‘भिटामिन डी’ को प्राप्ति बढाउने तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने माध्यमबाट मधुमेहको जोखिम कम गर्न मद्दत गर्न सक्छन् । साथै घरबाहिर समय बिताउँदा विभिन्न प्रकारका सूक्ष्म जीवहरूको सम्पर्कमा आउनाले आन्द्राको स्वास्थ्यमा सुधार आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन सक्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर ५० करोडभन्दा धेरै मानिसहरू मधुमेहबाट पीडित छन् र सन् २०५० सम्ममा यो सङ्ख्या १ अर्ब ३१ करोड पुग्ने अनुमान छ ।

सम्बन्धित् समाचार