रेसुङ्गा (गुल्मी) । गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ । प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार मदाने, रेसुङ्गा र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक बरामद भएका हुन् ।
शुक्रबार मदाने गाउँपालिका–२ बाँझकटेरीको उर्लाबारीचौरबाट एक थान भरुवा बन्दुक बरामद भएको उहाँले बताउनुभयो । अस्थायी प्रहरी पोस्ट बाँझकटेरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले ढुङ्गाको बीचमा लुकाएर राखिएको अवस्थामा बेवारिसे भरुवा बन्दुक फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको विश्वकर्माले जानकारी दिनुभयो ।
त्यस्तै, गत साउन १९ गते साँझ रेसुङ्गा नगरपालिका–२ धागिथुमस्थित सेतो गुराँस क्षेत्रमा पनि एक थान भरुवा बन्दुक बरामद भएको थियो । सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा सात जनाको टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा बनमाराको झाडीमा प्लास्टिकको सेतो बोराभित्र राखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
सोही दिन रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारको मुसीडाँडाबाट पनि भरुवा बन्दुकसहित बारुद र छर्रा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रुरुबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विकको कमान्डमा खटिएको तीन जनाको गस्ती टोलीले बन्दुक फेला पारेको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।







