गृहपृष्ठ Featured लुम्बिनीमा ७८ दिनमा मनसुनजन्य विपद्‌बाट ८५ जनाको मृत्यु

लुम्बिनीमा ७८ दिनमा मनसुनजन्य विपद्‌बाट ८५ जनाको मृत्यु

बुटवल — लुम्बिनी प्रदेशमा ७८ दिनको अवधिमा ९१ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट ८५ जनाको मृत्यु, १३ घाइते र दुई जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशको रोल्पामा मात्र विपद्बाट २० जनाको मृत्यु भएको छ ।

बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अधिक वर्षाका कारण ६ वटा घटना भएका छन् । यो अवधिमा पानीमा डुबेर मात्र ५८ जनाको मृत्यु भएको छ । बाढीमा परेर ४, चट्याङमा परेर ३, पहिरोमा परेर २० जनाको मृत्यु भएको छ ।

रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ । थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन् । चार स्थानीय तहमा गरी ३ सय १८ घरधुरी जोखिममा परेका छन् ।

सुस्ताका लागि २५ लाख, रोल्पाको सडक र पुल मर्मतमा ५० लाख
मुख्यमन्त्री कार्यालय देउखुरीमा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको रिङवाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन अवरुद्ध भएको अवस्थामा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले बताए । सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत सडक मर्मत गर्न निर्देशन गरिएको छ ।

परिषद्ले नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको माग अनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो । डढेलो, आगलागी तथा बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन कार्यालयमा मौज्दात रहेका खानेपानीका पाइप आवश्यकता अनुसार प्रयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ ।

सम्बन्धित् समाचार