गृहपृष्ठ Featured यी हुन् रसुवा बाढीपछि सम्पर्कविहीन २७ प्रहरी

यी हुन् रसुवा बाढीपछि सम्पर्कविहीन २७ प्रहरी

नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको विवरण सार्वजनिक गरेको छ।

शुक्रबार बेलुका प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका आफ्ना २७ कर्मचारी र मृत फेला परेका एक जना गरी २८ जनाको विवरण दिएको हो।

बुधबार बिहान आएको बाढीपछि रसुवागढी चौकीमा रहेका सबै प्रहरी सम्पर्कविहीन भएका थिए। ९ जना रहेकोमा एक जना बिदामा थिए। बाँकी ८ जना सम्पर्कविहीन छन्।

सम्पर्कबिहिन हुनेमा प्रहरी सहायक निरीक्षक (असई) सुरज गिरी, हवल्दार विकासबाबु अधिकारी, सहायक हवल्दार हिक्मत महरा र जवानहरु ओमबहादुर सिजापति मगर, मिलन श्रेष्ठ, राजेन्द्र महतरा, अनिल थारु, सन्दीप भर छन्।

इलाका प्रहरी कार्यालय टिमुरेका पनि दुई असईसहित १० जना प्रहरी सम्पर्कविहीन छन्। असई समबहादुर थापा र रामहरि खड्का सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी हवल्दार श्रवणकुमार यादव र दिपेन्द्र विष्ट, सहायक हवल्दारहरु नरेन्द्रप्रसाद भट्ट, सनकुमार तामाङ र निर्मल लामा तामाङ पनि सम्पर्कमा छैनन्। सोही कार्यालयमा कार्यरत सम्राट शेर्पा, कृष्ण बुढा मगर र सन्तराम थारु पनि बाढीपछि सम्पर्कमा छैनन्।

स्याफ्रुबेसीमा कार्यरत ३ जना पनि सम्पर्कविहीन छन्। असई विनोद अधिकारी, सहायक हवल्दार हरेन्द्रप्रसाद यादव र जवान कर्णबहादुर गुरुङको सम्पर्कमा छैनन्।

हाइड्रोपावरको डिउटीमा खटिएका हाकु चौकीका जवान सुशिल तामाङ, अस्थायी पोष्ट मैलुङका प्रमुख समेत रहेका प्रहरी नायव निरीक्षक (सई) मदनराज स्याङबो, हवलदार नविन कुमार सिंह र केसरराज चालिसे, जवानहरू डिलबहादुर मगर र आशिष गडरिया पनि सम्पर्कमा छैनन्।

प्रहरीचौकी बेत्रावतीका असई रामकाजी पौडेल स्थानीयलाई बाढी आएको सूचना दिन माइकिङ गरिरहेका थिए। त्यही क्रममा बाढीले बगाएका पौडेलको भने चितवनमा शव फेला परेको छ। नुवाकोट घर भएका पौडेलको भने शुक्रबार दाहसंस्कार गरेका छन्।

बाढीपछि ४५ जना सैनिक र १३ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्।

सम्बन्धित् समाचार