गृहपृष्ठ खबर बाणगंगामा फोहोरमैला व्यवस्थापनप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण

बाणगंगामा फोहोरमैला व्यवस्थापनप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले बाणगंगा नगरपालिकामा लामो समयदेखि देखिएको फोहोरमैला व्यवस्थापनको समस्या तत्काल समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

संघले बाणगंगा नगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै करिब एक महिनादेखि नगरका विभिन्न क्षेत्रमा नियमित रूपमा फोहोर नउठ्दा सडक किनारा, सार्वजनिक चोक तथा टोल–टोलमा फोहोर थुप्रिएको जनाएको छ। फोहोरमैला व्यवस्थापन प्रभावकारी नहुँदा बजारको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै दुर्गन्धका कारण सर्वसाधारण तथा व्यवसायीसमेत प्रभावित भएको संघको भनाइ छ।

संघका अनुसार फोहोरका थुप्राले कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ। दैनिक फोहोर उत्पादन हुने होटल, रेस्टुरेन्ट, किराना पसल, फलफूल तथा तरकारी पसल र मासु पसललगायत व्यवसायहरू पनि यस समस्याबाट प्रत्यक्ष प्रभावित भएका छन्। फोहोरका कारण व्यवसायमा ग्राहकको आवागमन घटेको तथा दुर्गन्धले स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने संघले उल्लेख गरेको छ।

खुला रूपमा थुपारिएको फोहोरका कारण वायु तथा जल प्रदूषण बढ्नुका साथै विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको भन्दै संघले तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। यसले नगरको स्वास्थ्य अवस्था र समग्र छविमा समेत नकारात्मक प्रभाव पार्न सक्ने संघको चेतावनी छ।

ज्ञापनपत्रमा फोहोरमैला व्यवस्थापन अत्यावश्यक सार्वजनिक सेवा भएकाले वर्तमान समस्यालाई कुनै पनि दृष्टिकोणबाट लामो समयसम्म कायम राख्न उचित नहुने उल्लेख गरिएको छ। संघले तत्काल ठोस कदम चाल्नुका साथै फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन र प्रभावकारी योजना निर्माण गर्न नगरपालिकासँग आग्रह गरेको छ।

 

संघले आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू प्रतिबद्ध रहेको जनाउँदै बाणगंगा नगरपालिकाले समस्याको गम्भीरतालाई बुझेर उच्च प्राथमिकताका साथ तत्काल प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गरेको छ। समस्या समयमै समाधान हुन नसके व्यवसायी तथा नागरिकमा थप असन्तुष्टि र आक्रोश बढ्न सक्ने भन्दै ज्ञापनपत्रलाई सकारात्मक रूपमा लिएर ठोस कार्ययोजना अघि बढाउन संघले अनुरोध गरेको छ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीको हस्ताक्षर रहेको ज्ञापनपत्र बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल समक्ष बुझाइएको हो।

सो अवसरमा जनप्रतिनिधि तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष पदाधिकारीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार