गृहपृष्ठ Featured मेयर शाहले भने ‘पानीमाथिको ओभानो बन्ने काम बन्द गर्नुस्’

मेयर शाहले भने ‘पानीमाथिको ओभानो बन्ने काम बन्द गर्नुस्’

कृष्णनगर, ११ असाेज ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका क्षेत्रमा सडकको दुरावस्थालाई लिएर नगर प्रमुख रजत प्रताप शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनसम्पर्क विभागका केन्द्रीय सदस्य राशिद मिर्जाबीच सामाजिक सञ्जालमा सवाल-जवाफ भएको छ ।

कृष्णनगरको झण्डेनगर-बालानगर-सिर्सिहवा सडकको हिलाम्मे तथा जीर्ण अवस्थाको तस्बिर सार्वजनिक गर्दै मिर्जाले सडकको अवस्थामाथि प्रश्न उठाएका छन् । उनले “हामीले यो नरक जस्तो जीवन कहिलेसम्म जिउनुपर्ने हो ? यो सडक कहिलेसम्म यस्तै रहने हो ? जिम्मेवारी कसको ?” भन्दै प्रश्न गरेका छन् ।

तस्बिरमा सडकमा पानी जमेको, हिलोका कारण आवतजावत कठिन बनेको तथा सडकको दुबैतर्फ नालीसमेत व्यवस्थित नभएको देखिन्छ ।

मिर्जाको पोस्ट शेयर गर्दै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उक्त सडकलाई “संघीय सरकारको पूर्वाधार विकास कार्यको नमुना” भन्दै टिप्पणी गरेका छन् ।

स्थानीय सरकारले उक्त सडकमा लगानी गर्न नपाउने दाबी गर्दै शाहले आफू र आफ्नो सरकारले गर्न नसकेको कामलाई स्थानीय सरकारसँग जोडेर आफूहरू पानीमाथिको ओभानो बन्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख शाहले सामाजिक सञ्जालमा “अब जनता नझुक्किए हुन्छ” भन्दै प्रतिक्रिया दिएका छन् । उक्त सडक संघीय सरकारको पूर्वाधार सम्बन्धी योजना अन्तर्गत पर्ने देखिन्छ ।

सम्बन्धित् समाचार