गृहपृष्ठ Featured किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष

किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष

किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ ।

कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी ओपनएआईले किशोरकिशोरीका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ ।

१३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपनएआईले ३ अघि अगस्टदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ । यसअन्तर्गत किशोरकिशोरीलाई च्याटजीपीटीसँग अत्यधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ ।

ओपनएआईका अनुसार किशोरकिशोरीले च्याटजीपीटीमा दैनिक औसत १५ मिनेटभन्दा कम समय बिताउने गरेका छन् । लामो समयसम्म प्रयोग गर्ने किशोरकिशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढी प्रश्न गर्ने गरेको कम्पनीको दाबी छ । तर, गैरनाफामूलक संस्था कमन सेन्स मिडियाले गरेको नयाँ अध्ययनले भने च्याटजीपीटी किशोरकिशोरीका लागि अझै पनि ‘अस्वीकार्य जोखिम’ रहेको निष्कर्ष निकालेको छ ।

संस्थाले १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याटजीपीटीको प्रयोगमा रोक लगाउनसमेत सुझाव दिएको छ ।

कमन सेन्स मिडियाका अनुसार च्याटजीपीटीले किशोरकिशोरीसँग कुराकानी गर्दा साथी जस्तो व्यवहार गर्ने वा मानवीय शैलीमा कुराकानी गर्ने अवस्था पनि अझै देखिएको छ । यसबीच, बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस बढिरहेको छ ।

किशोरकिशोरीले एआई च्याटबटको प्रयोग पढाइ र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानी र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको विज्ञहरूले बताउँदै आएका छन् ।

सम्बन्धित् समाचार