गृहपृष्ठ Featured बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका

बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् ।

भाइटिकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिएकी थिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिएका थिए ।

चौधरीले विगत दुई वर्षदेखि बालगृहका बालकलाई भाइटिका लगाउँदै आएका छन् । रगतको नाता नभए पनि बालगृहका बालकसँग आत्मीय सम्बन्ध स्थापित भएको उनले बताइन् । “बालगृहका भाइहरूलाई सामूहिक रूपमा टीका लगाउन पाउँदा निकै खुसी लाग्छ”, उनले भनिन्, “रगतको नाता नभए पनि यहाँका भाइहरूसँग कर्मको नाता जोडिएको छ ।”

एकैपटक धेरै भाइलाई टीका लगाउन पाउँदा आफूलाई भाग्यमानी महसुस हुने उनको भनाइ छ । चौधरीका आफ्नै एक दाइ र एक भाइ छन् ।

बालगृहमा रहेका रोहन सुनारले दिदी बबिताको हातबाट टीका लगाउन पाउँदा खुसी लागेको बताए । “आफ्नै दिदीसँग टीका लगाएजस्तो महसुस भएको छ”, उनले भने । बालगृहमा लालनपालन र शिक्षादीक्षासँगै चाडपर्व पनि पारिवारिक वातावरणमा मनाउन पाउँदा आफूहरू खुसी हुने उनले बताए ।

बालगृहका प्रमुख रामप्रसाद अर्यालले बालकलाई विभिन्न चाडपर्वमा रमाइलोसँग सहभागी हुने वातावरण मिलाउँदै आएको बताए । “हामीले भविष्यका कर्णधारलाई सकेसम्म राम्रो वातावरण प्रदान गरेका छौँ”, उनले भने ।

बालगृहमा १८ वर्षमुनिका २९ बालक रहेका छन् । तीमध्ये पाँच जना भाइटिका मनाउन नजिकैका आफन्तको घर गएकाले बाँकी २४ जनाले बालगृहमै सामूहिक रूपमा भाइटिका मनाएका हुन् ।

सम्बन्धित् समाचार