रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगार नेर्पास्थित जनजागृति माध्यमिक विद्यालयको पश्चिम दक्षिण तिरको गेट नजिकै गुडिरहेको ईभी गाडीबाट खसेर एक युवाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गाडीमा यात्रारत त्रिवेणी गाउँपालिका–३, छापका युवा ३० वर्षीय गणेश घर्ती मगरको मंगलबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुका अनुसार मंगलबार बेलुकी करिब ८:१५ बजे रोल्पा सदरमुकाम लिवाङबाट जुगार, लिङ्दुङ हुँदै सिमपानी तर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको ईभीबाट खसेर घर्ती गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते उनलाई सुरुमा स्थानीय जुगारमा रहेको नेर्पा स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पुर्याइएको थियो। उपचारका क्रममा उनको स्वास्थ चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना पछि गाडी चालक त्रिवेणी गाउँपालिका–६, कालिपानीका २५ वर्षीय राजु परियार र ईभी गाडीलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि प्रहरीले मंगलबार राति करिब ११: ५० बजे नै चालक र गाडीलाई इलाका प्रहरी कार्यालय होलेरीमा लगेको छ । घटनाका बेला गाडीमा रहेका अन्य आठ यात्रुलाई भने गन्तव्यतर्फ पठाइएको थियो ।







