जनकपुर — बुधबार रातिदेखिको लगातारको झरीले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा पनि वर्षा नरोकिएकाले प्रदेश २ का आठै जिल्ला डुबानमा परेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रमुखलाई शुक्रबार उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् ।
शुक्रबार विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले बाढीको जोखिम न्यूनीकरणका लागि तयारी बस्न र आवश्यक सामग्री तत्कालै उपलब्ध गराउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ । ‘बढी जोखिम क्षेत्र नजिकका पोस्टलाई अलर्टमा राखिएको छ,’ उनले भने, ‘पोहोर जहाँ बढी क्षति पुर्यायो, त्यहाँ बढी फोकस गरेर रणनीति बनाइएको छ ।







