वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा भएको छ।
बुधबार वडा नं. ४ ठाकुरापुरमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिताकुमारी चौधरीलाई घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बाणगंगाले हासिल गरेको उपलब्धि जिल्लाकै लागि उदाहरणीय भएको उल्लेख गर्दै खोप अभियानलाई निरन्तरता दिँदै दिगोपनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। “यो उपलब्धि केवल घोषणा मात्र नभई जनस्वास्थ्यप्रतिको जिम्मेवारीको प्रतिबिम्ब हो,” उहाँले भन्नुभयो।

नगरप्रमुख अर्यालले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको सक्रिय सहभागिताका कारण यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा पनि खोप सुनिश्चितता कायम राख्न नगरपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हामीले प्राप्त गरेको यो उपलब्धिलाई दीगो बनाउँदै सबै बालबालिकालाई सुरक्षित भविष्य दिनेतर्फ केन्द्रित रहनेछौं,” उहाँले भन्नुभयो।
उपप्रमुख चौधरीले स्वास्थ्य क्षेत्रको सुधार र बालबालिकाको सुरक्षाका लागि पूर्ण खोप सुनिश्चितता महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सबै सरोकारवालाको सहकार्यले मात्रै यस्ता अभियान सफल हुने बताउनुभयो। “समुदायको सक्रियता र सचेतनाले नै यस्तो उपलब्धि सम्भव भएको हो,” उहाँले भन्नुभयो।
त्यसैगरी, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकाल तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउन नियमित अनुगमन, प्रभावकारी अभिलेख व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।







