वैखरी अनलाईन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकामा सम्पन्न नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं.५ ले जितेको छ। बुधबार भएको फाइनल खेलमा वडा नं.८ लाई पराजित गर्दै वडा नं.५ ले उपाधि आफ्नो पक्षमा पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको वडा नं.८ ले १४.२ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्यो। सामान्य लक्ष्य पछ्याएको वडा नं.५ ले उत्कृष्ट प्रदर्शन गर्दै ८.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

फाइनल खेलमा वडा नं.५ का जुल्फीकर खान उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।
उपाधि जितेसँगै वडा नं.५ ले नगद रु.३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नं.८ ले नगद रु.२५ हजारमा चित्त बुझाएको छ।
पुरस्कार वितरण गर्दै नगरप्रमुख केशव श्रेष्ठले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बनाउने बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिकाले आगामी दिनमा खेलकुद क्षेत्रको विकास र प्रोत्साहनका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।








