गृहपृष्ठ खबर प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटी पुगे

प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटी पुगे

सत्तारुढ नेकपाको विवादले उग्ररूप लिइरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्ने भैँसे पाटी पुगेका छन्। मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेपछि ओली वामदेवलाई भेट्न साँझ ७ बजे भैंसेपाटी पुगेका हुन्।

पछिल्लो समय दाहाल–नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीको पक्षमा आफूलाई उभ्याएका थिए। वामदेवको ६ बुँदे प्रस्तावले नेकपा दाहाल–नेपाल गुटमा तरंग ल्याएका बेला महासचिव विष्णु पौडेललाई साथमा लिएर ओली भैंसेपाटी पुगेका हुन्। तीन नेताबीच भैंसेपाटीमै खाना खाने कार्यक्रम तय गरिएको छ।

मंगलबार बालुवाटारमा भएको दाहाल-नेपाल समूहका स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूले राखेको ६ बुँदे प्रस्तावबारे आफ्नो धारणा राखेका थिए। “प्रधानमन्त्रीज्यू महासचिव पौडेललाई साथमा लिएर भैंसेपाटी पुग्‍नु भएको छ।

उहाँहरु साँझ ७ बजे भैंसेपाटी जानुभएको होु, उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्‍वमणि सुवेदीले भने, “उहाँहरूबीच पछिल्लो समय नेकपामा विकसित भएको घटनाक्रम र मंगलबार सार्वजनिक गरिएको ६ बुँदे प्रस्तावसहितका विषयमा छलफल हुन सक्छ।”

सम्बन्धित् समाचार