गृहपृष्ठ खबर कपिलवस्तुमा लकडाउनको उलंघन गर्नेको संख्या बढ्दो, अवस्था भयावह हुन सक्ने खतरा

कपिलवस्तुमा लकडाउनको उलंघन गर्नेको संख्या बढ्दो, अवस्था भयावह हुन सक्ने खतरा

कपिलवस्तुमा लागु पुर्ण लकडाउनको उलंघन गर्नेहरुको संख्या बढ्दो देखिएको छ । जिल्लामा प्रशासनले अत्यावश्यक काम बाहेकमा रोक लगाएता पनि सर्वसाधरणले भने त्यसको वास्ता नगरेको पाईएको छ । दैनिक जसो प्रहरीको टोलीले सडकमा अनावश्यक आवतजावत गर्नेहरुलाई नियन्त्रणमा लिई सम्झाई बुभाई गर्ने गरेको छ ।
सर्वसाधरणले लकडाउनको पुर्ण पालना नगर्दा जिल्लामा कोरोनाको अवस्था भयावह हुन सक्ने खतरा बढेको जानकारहरु बताउँछन् । प्रशासनको निर्देशनलाई पालना गरेर मात्र कोरोनाको संकटलाई न्युनिकरण गर्न सकिने उनीहरुको भनाई छ ।
जिल्लामा कोरोना भाइरसका संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बढ्दो जोखिमलाई न्यूनिकरण गर्नका लागि लकडाउन जारी गरिएको हो ।


जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने निजी सवारी साधन पनि मंगलबार विहानै देखि ठप्पै छन् । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।
यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।


अब दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने पाइने छैन् ।
अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ ।

सम्बन्धित् समाचार