आज असार १५ । विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले २०६२ सालदेखि १५ असारलाई धान दिवसका रूपमा मनाउन थालेको हो ।
यस वर्षको धान दिवसका लागि कृषि, तथा पशुपन्छी विकास मन्त्रालयले ‘धान उत्पादनमा वृद्धिः आत्मनिर्भरता समृद्धि’ भन्ने मूल नारा तय गरेको छ । यस वर्ष किसानले कोरोना भाइरसको सास्ती खेपिरहेका छन् । विभागले हिलो नखेल्न किसान र सर्वसाधारणमा सूचनामार्फत आग्रह गरेको छ । नेपालमा करिब ६७ प्रतिशत कृषकमध्ये ७० प्रतिशत धान खेतीमा निर्भर रहेको विभागले जनाएको छ ।
असारे भाका घन्काउँदै धान रोप्ने नेपाली प्रचलन हराउँदै गएको छ । तर, सामाजिक सञ्जालमा रमाउने युवापुस्ताले भने १५ असारलाई रमाइलो गरी मनाउन थालेका छन् । युवा-युवतीले हिलो छ्यापाछ्याप गरेका तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाएर १५ असार मनाउँछन् ।
५ वर्षभित्र धानमा आत्मनिर्भरको लक्ष्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । नेपालमा वार्षिक करिब ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि विभागले जानकारी दिएको छ । तर, ६२ हजार मेट्रिक टन धान खपत हुने विभागले जनाएको छ ।
समयमा मनसुन सुरु भएकाले आगामी आर्थिक वर्षमा ५८–५९ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य रहेको विभागले जानकारी दिएका छ । वार्षिक ६ लाख मेट्रिक टन धान र चामल भारतलगायत देशबाट आयात हुने गरेको विभागले जनाएको छ ।
नेपाललाई धानमा आत्मानिर्भर बनाउन ६ लाख मेट्रिक टन धन उत्पादन बढाउनु आवश्यक रहेको विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलले जानकारी दिए । सरकारले आगामी वर्षदेखि आगामी ५ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादन बृद्धिमा जोड दिइरहेको पौडेल बताउँछन् ।
‘सरकारले नेपाललाई कृषिमा आत्मनिर्भर गराउन सक्दो प्रयास गरिरहेको छ । प्रदेश र स्थानीय तहमा तालिम समेत सञ्चालन गरिने छ,’ उनले भने, ‘२ सय ३० स्थानीय तहमा धानको बीउ प्रवर्द्धनका कायक्रम लागू हुँदै छ । नेपालमा हिउँदे र बर्खे धान खेती हुन्छ । हिउँदे जस्तै बर्खे धान खेतीमा किसानको आकर्षण बढ्दो छ ।’
समयमै मनसुन सुरु भएकाले देशभर रोपाइँ भइरहेको छ । गत वर्षभन्दा २–३ लाख मेट्रिक टन धेरै धान उत्पादन हुने उनको अनुमान छ । असार १४ गतेसम्म २७ प्रतिशत रोपाइँ भइसकेको विभागले जानकारी दिएको छ ।
नेपालले वार्षिक करिब १८ अर्बभन्दा बढीको चामल भारत र अन्य देशबाट आयात गर्दै आएको छ । त्यसमध्ये भारतबाट आयात हुने परिमाण धेरै छ ।
सरकारले आधुनिक धान खेतीको परिकल्पना गर्न नसक्दा किसान परम्परागत खेतीमा निर्भर हुनु परेको धानविज्ञ डा. भोलामान बस्नेत बताउँछन् । नेपालमा व्यवसायिक रूपमा धान खेती हुन नसकेको उनको भनाइ छ । कृषकले आफ्ना बलबुद्धिले भ्याएसम्म धानको उत्पादन बढाइरहेको बस्नेत बताउँछन् ।
धान उत्पादन बढ्दो
विगत ५ वर्षयता नेपालमा धान उत्पादन बृद्धि भइरहेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको विभागले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन, २०७५/०७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको विभागको तथ्याङ्क छ । यस्तै, २०७६/०७७ मा ५६ लाख २० हजार मेट्रिक टन र चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उन्पादन भएका विभागले जनाएको छ ।
नेपालमा सयभन्दा धेरै जातका धान उत्पादन हुने गरेको छ ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ५० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान लगाइन्छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ भने कृषिको कुल गार्हस्थ्य उत्पादनमा धानले झन्डै २५ प्रतिशत योगदान गरेको विभागको तथ्याङ्क छ ।
धान विश्वका १ सय १४ देशमा उत्पादन हुने गरेको छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड ९ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यान्मार, फिलिपिन्स, ब्राजिल, जापान र नेपाल हुन् ।







