काठमाडौं : दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा हो- साफ च्याम्पियनसिप। सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइरहेका छन्।
१२ मध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक(एक उपाधि जितेका छन्।
सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।
नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्।
साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ। सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ तयारी नेपाली टिम गरिरहेको छ। हुन त प्रत्येक संस्करणमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन।
अहिले पोखरामा रहेको नेपाली टिम केही दिनपछि साफको तयारीका लागि कतार जाँदैछ। नेपाली टिम कतारबाट सिधै माल्दिभ्स पुग्ने कार्यक्रम छ।
त्यसअघि नेपालले साफको सबैभन्दा सफल टिम भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी बिहीबार र आइतबार हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ। दुवै टिमले यो मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन्।
सोमबार काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको प्रतिक्रिया दिए।
उनले नेपाली टिम बलियो भएको बताउँदै नेपालसँग खेल्न सधैं गाह्रो हुने पनि प्रतिक्रिया दिए। झापा मामाघर भएका क्षेत्री नेपाली समर्थकमाझ पनि लोकप्रिय छन्। सोमबार नेपाली भाषामा प्रतिक्रिया दिएका क्षेत्रीले आफ्नो हजुरबुबा-हजुरआमाको देशमा खेल्दा खुसी लाग्ने बताएका थिए।
नेपाली टिमले पनि भारतीविरुद्धको खेललाई साफ च्याम्पियनसिपअघिको अवसरको रुपमा लिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफअघि भारतविरुद्ध खेल्दा फाइदा पुग्ने केही दिनअघि बताएका थिए।
छिमेकी प्रतिद्वन्द्वनी नेपाल र भारतबीच सन् १९८५ मा पहिलो प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन्।








