पूर्व दुई विजेता बंगलादेश र श्रीलंकाबीचको खेलसँगै साफ च्याम्पियनसिप २०२१ शुक्रबार सुरु हुँदैछ । नेसनल स्टेडियममा हुने दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले नेपालको सामना गर्नेछ । माल्दिभ्स फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।
उद्घाटन खेल स्थानीय समय अनुसार चार बजे सुरु हुनेछ भने दोस्रो खेल नौ बजे हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीचको खेल पहिले हुने तय थियो, तर पछि खेल तालिका परिवर्तन गरिएको हो ।
प्रतियोगिताकै लागि भनेर मालेको केन्द्रमा रहेको नेसनल स्टेडियमलाई भित्र र बाहिरबाट सजाइएको छ ।
स्टेडियम भएर जाने बाटो पनि माल्दिभ्सको झण्डासहित सजाइएको छ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मदले शुक्रबार नै आफ्नो राष्ट्रिय टिमका खेलाडीलाई भेटेर शुभकामना व्यक्त गरेका छन् । उनले त्यस क्रममा माल्दिभ्सलाई आफ्नै भूमिमा हुने प्रतियोगिता जित्ने कामना गर्दै आफ्नो देशका सबै नागरिक फुटबल टिमको समर्थनमा रहेको बताए ।








