एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो।
प्रतिस्पर्धात्मक खेलमा बिल्बाओलाई जिताउन राउल गार्सियाले निर्णायक गोल गरे। गार्सियाले ४४औं मिनेटमा इनिगो लेक्वेको पासमा गोल गरेका थिए । यसअघि गार्सियाले नवौं मिनेटमा पेनाल्टी मिस गरेका थिए । गार्सियाको प्रहारलाई अलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सजिलै विफल पारेका थिए ।
५६ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले दोस्रो हाफमा खासै आक्रमण बुन्न सकेन । खेलभर बिल्बाओले १६ वटा पोस्ट प्रहार गरेको थियो । ४४ प्रतिशत बल पोसेसन राखेको अलाभेसले गोल फर्काउन सकेन । १७ वटा पोस्ट प्रहार गरेको अलाभेसको प्रयासमा बिल्बाओको रक्षापंक्ति बाधब बनेको थियो । बिल्बाओका इनाकी विलियम्स ‘म्यान अफ दी म्याच’ भए।








