कपिलवस्तु : कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए । असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ ।
प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा ८० लाख राजस्व संकलन गरेको थियो । चोरी तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाएर कपिलवस्तु प्रहरीले अपरेशन सञ्चालन गरेको बताइएको छ ।
गत वर्ष असोजमा कपिलवस्तु प्रहरीले ६६ लाख ६८ हजार राजस्व संकलन गरेका थियो । असोजमा ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये २० वर्षदेखि फरार रहेका ३ जनालाई पक्राउ गरिएको छ । यस्तै कपिलवस्तुबाट हराएका १४ वर्षीय बालकलाई प्रहरीले ७ महिनामा उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।
२०७७ फागुन २९ देखी हराएका कपिलवस्तु नगरपालिका–३ घर भएका रामबिक्रम तेलीको १४ वर्षीय छोरा काशीराम तेलीलाई भारतको मुम्बईबाट उद्धार गरिएको डिएसपी भण्डारीले बताए ।








