गृहपृष्ठ Featured अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि देखि खुल्ने

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि देखि खुल्ने

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार (डिसेम्बर १५) देखि खुल्ने भएको छ। यसअघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अष्ट्रेलियन सरकारले थप दुई सातापछि भोलिबाट सीमा खोल्न लागेको हो।

यसअघि जारी गरेको सीमा नीतिमा कुनै परिवर्तन नहुने भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबारबाट सिमा खुल्ने जानकारी दिए। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको थियो।

गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रुअरीसम्म पुनः प्रतिबन्ध लगाउन सकिनेबारे छलफलसमेत भएको थियो।प्रधान मन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे।

ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउनलगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला स्वास्थ्य मन्त्री ग्रेग हन्टले सुरक्षा सतर्कता अपनाएर कोरोना भाइरसविरूद्ध डटेर लड्ने बताए। उनले समुदायमा व्याप्त रहेको शंका कम गर्न राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको बताए।

‘हामी फेरि लकडाउनमा फर्किन चाहन्नौं, कोही पनि चाहँदैनन्,’ मन्त्री हन्टले भने, ‘नयाँ भेरियन्टको प्रभाव अध्ययन गर्न कम्तीमा दुई साता लाग्ने भएकोले त्यसकै लागि समय थपेका थियौं, प्रतिबन्ध थप गर्ने कुनै योजना छैन।’

अष्ट्रेलियाका स्वास्थ्य प्रमुख पल केलीले नयाँ भेरिएन्टबारे प्रष्ट हुन दुई सातासम्मको समय लाग्ने जानकारी दिएपछि सीमा खोल्ने समय दुई साता सारिएको उनले बताए।

हाल मान्यता प्रदान गरिएका कोरोनाविरूद्धका खोपहरू ओमिक्रन भेरिएन्टविरूद्ध कति प्रभावकारी हुन्छन् त्यो हेर्न बाँकीनै रहेको मन्त्री हन्टले बताए।

यसअघि अष्ट्रेलिया सरकारले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो।

केही सञ्चार माध्यमले मन्त्रिपरिषदको निर्णयलाई हवाला दिएर फेब्रुअरी महिनासम्म सिमा नखुल्ने भन्दै भ्रम फैलाएका थिए।

सम्बन्धित् समाचार