सोलुखुम्बुको गोरकसेपबाट झिमसिमेमै कालापत्थर उक्लने योजना थियो। अनि त्यहाँबाट फर्किएर त्यसै दिन सगरमाथा आधार शिविर पुग्ने लक्ष्य। पोर्चुगलका पेड्रो बेन्टो मंसिर ६ गते यही योजना बुनेर काठमाडौंबाट निस्किएका थिए पेडल चलाउँदै। साइकलमा उकाली ओराली गर्दै ११ दिन लाग्यो गोरकसेप पुग्न। साइकल बोकेर आधार शिविरसम्म पुग्नु कम चुनौतीपूर्ण छैन। त्यसैले धेरैले आँट गर्दैनन्। जतिखेर उनी साइकलमा खुम्बुतिरको यात्रा गरिरहेका थिए, बाटामा भेटिने मानिसहरु ताली बजाउँदै उनलाई सम्मान अर्पण गर्थे।
मंसिर १ गते लोबुचे हुँदै गोरकसेप पुग्दै गर्दा पेड्रोलाई उनका शेर्पा गाइड लाक्पाले भनेका थिए स् तिमी त शेर्पा जस्तै रहेछौं। कति छिटो तिम्रो गति१
यो सुनेर पेड्रो हौसिएका थिए। राति खाना खाने बेलासम्म सबै कुरा ठीकै थियो। बिहानै ५ बजे कालापत्थर उक्लने योजना लाक्पासँग साटेका थिए उनले। तर, राति १० बजेपछि दृश्य फेरियो।
पेड्रोको टाउको अचानक दुख्न थाल्यो। दुखाईले रातभर निदाउन सकेनन् उनी। मंसिर २ गते बिहान ५ बजे उठेर हिँड्ने योजना पूरा भएन। पेड्रो नउठेपछि लाक्पा होटलको कोठामा पुगे र उनको अक्सिजनको मात्रा परीक्षण गरे। अक्सिजन लेभल रहेछ ( ६०।
लाक्पाले भने स् पेड्रो तिमीलाई लेक लाग्यो। हामीले योजना परिवर्तन गर्नुपर्छ।
काठमाडौंदेखि सोलुखुम्बुसम्म साइकलमा आइपुगेका पेड्रोलाई पछि हट्न मन थिएन। त्यसैले केही समय आराम गरे। अनि बिहान ८ बजे साइकल बोकेर लागे सगरमाथा आधार शिविरतिर। कालापत्थर जाने योजना स्थगित भयो।
करिब तीन घण्टाको यात्रापछि पेड्रो पुगे ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पुगे। लेक लाग्दालाग्दै पनि पेडल चलाउँदै साइकलमा बेस क्याम्प पुगेका उनलाई त्यहाँ पुग्ने बित्तिकै चिच्याउन मन थियो। ठूलो स्वरले आफ्नो नाम भन्न मन थियो। परिवारका सदस्यको नाम सगरमाथालाई सुनाउन मन थियो। तर, उनले त्यसो गर्न सकेनन्।







