गृहपृष्ठ Featured स्पेनिस ला लिगा : भ्यालेन्सियालाई स्पान्योलको नमिठो धक्का

स्पेनिस ला लिगा : भ्यालेन्सियालाई स्पान्योलको नमिठो धक्का

काठमाडौं : स्पेनिस ला लिगाको मध्यम टोली भ्यालेन्सियालाई स्पान्योलको नमिठो धक्का लागेको छ। शुक्रबार रातिदेखि सुरू भएको १९औं राउन्डको खेलमा भ्यालेन्सिया स्पान्योलसँग २-१ गोलले पराजित भयो।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई हराउन स्पान्योलका राउल डे टोमस र जाभी पाउडोले गोल गरे। भ्यालेन्सियाका ओमार अल्डेरेटको गोल सान्त्वना गोलमा परिणत भयो।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो। ५१औं मिनेटमा ओमार अल्डेरेटले हेल्डर कोस्टाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। तर, ८३औँ मिनेटमा हुगो डुरो दोहोरो पहेंलो ९रातो० कार्ड पाउँदै बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटियो। लगत्तै पाहुना टोली स्पान्योलले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्यायो।

राउल डे टोमसले पेनाल्टीको सदुपयोग गरे। ८८औं मिनेटमा जाभी पाउडोले जोफ्रे क्यारेरसको पासमा गोल गर्दै स्पान्योललाई महत्वपूर्ण जित दिलाए। ६३ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १५ वटा पोस्ट प्रहार गरेको थियो। १० खेलाडीमा समेटिएपछि कमजोर देखिएको भ्यालेन्सिया हार खेप्न बाध्य बन्यो। स्पान्योलका जोफ्रे क्यारेरस ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै स्पान्योल नवौं स्थानमा उक्लिएको छ। स्पान्योलले १९ खेलबाट २६ अंक बनाएको छ। हारसँगै भ्यालेन्सियाले चौथो स्थानमा उल्कने मौका गुमायो। समान खेलबाट २८ अंक बनाएको भ्यालेन्सिया आठौं स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना २८ अंकसहित सातौं स्थानमा छ।

शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४६ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ३८ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ। सेभिया र बेटिसले एक खेल कम खेलेको छ।

सम्बन्धित् समाचार