गृहपृष्ठ Featured प्रचण्ड ३५ वर्षदेखि निरन्तर पार्टीको ‘कार्यकारी’ पदमा

प्रचण्ड ३५ वर्षदेखि निरन्तर पार्टीको ‘कार्यकारी’ पदमा

१९ पुष, काठमाडौंः झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नेकपा माओवादी केन्द्रको अध्यक्षमा चयन भएका छन्। पार्टीको जारी आठौं महाधिवेशनबाट नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा ‘प्रचण्ड’ सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्।

उनको विकल्पमा अन्य नेताहरुले दाबी गरेनन्। कारण उनीसँगैका सहयात्री मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई र रामबहादुर थापा माओवादी केन्द्रमा छैनन्।

२०४४ सालमा पार्टीको महासचिव भएदेखि प्रचण्डले निरन्तर माओवादीको नेतृत्व सम्हाल्ने मौका पाएका छन्। विगत ३५ वर्षदेखि पार्टी प्रमुख रहँदै आएका प्रचण्ड आगामी पाँच वर्षका लागि पुनः नेतृत्वमा चयन भएका हुन्।

प्रचण्ड २०६२–६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरे। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्रीसमेत बने। तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरणमा मुछिएपछि प्रचण्डले राजीनामा दिएका थिए। त्यसपछि उनले २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री चुनिएका थिए। संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो।

दाहालको जन्म कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस-२ को लिवाडेमा विसं २०११ मंसिर २६ गते भएको थियो। पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट उनी जेष्ठ पुत्रका रूपमा जन्मिएका थिए। उनको बाल्यकालको नाम छविलाल दाहाल हो।

सम्बन्धित् समाचार