काठमाण्डौ : संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन चाँडो वा ढिलो गर्ने छुट नरहेको बताएका छन् । उनले संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको बताएका छन् । पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा ल्याएका हुन् ।
उनका अनुसार प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको छ । यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले छ महिनाभित्र गर्नुपर्ने संविधानले व्यवस्था गरेको आचार्यले बताए । ‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन।
दलहरू यसतर्फ नलाग्ने कि?,’ उनले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेका छन् । सत्ता गठबन्धनका अन्य दलहरू पनि निर्वाचनबारे संविधानविद्सँग छलफल गर्ने तयारीमा छन् ।








