रुपन्देही ।
बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ । यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहोर्याउने रणनीतिका साथ चुनावी मैदानमा खटिएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बनेका छन् । तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक सङ्घीय संसद्को उम्मेदवार बनाएको हो ।
“यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आङ्कलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिस्पर्धा हुन्छ”, स्थानीय समाजसेवी विष्णु बस्याल भन्छन् ।
कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गरेका थिए। त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित भएका थिए।








