रुपन्देही ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा माघ २१ गते देखि २९ गतेसम्म भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ ।
९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
वुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा अग्रवालले यो प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे । आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो ।
‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।








