गृहपृष्ठ Featured बुटवलका ३५ जना महिला अटोरिक्सा चालकलाई सम्मान

बुटवलका ३५ जना महिला अटोरिक्सा चालकलाई सम्मान

बुटवल ।

बुटवलका ३५ जना महिला अटोरिक्सा चालकलाई सम्मान गरिएको छ। महिलाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ। चालक महिलाहरूलाई सम्मान गर्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आगामी आर्थिक वर्षदेखि महिला चालकका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए।

पाण्डेले इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै बुटवलमा महिलाहरूलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए। बुटवलमा इरिक्सा र टेम्पो चालक बन्दै स्वरोजगारतर्फ उन्मुख भइरहेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताए।

नगरप्रमुख पाण्डेले अटोरिक्सा सञ्चालन व्यवसाय नभई स्वरोजगारमूलक पेशा भएकोले कुनै पनि व्यापारीहरूले दर्ता गरेका अटोरिक्सालाई रूट इजाजत दिन नसकिने बताए।

सम्मान ग्रहण गर्दै अटोरिक्सा चालक सुशीला अर्यालले परिवारबाट अलग्गिएर विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाव दिइन्। अर्की चालक मीना नेपालीले सुरूवाती समयमा अटोरिक्सा चलाउँदा घरपरिवार र यात्रुहरूले समेत विश्वास नगरेको स्मरण गर्दै अहिले भने त्यस्तो कुनै समस्या नभएको बताइन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले ट्राफिक नियमको पालना गर्न सके धेरै दुर्घटनाबाट जोगिनसक्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

सम्बन्धित् समाचार