बुटवल ।
नामै त बिना विभागीय । कुनै विभागको जिम्मेवारी नपाएपछि कामको चाप पनि हुने कुरै भएन । वैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए सन्तोष पाण्डेय, धनबहादुर मास्की र धर्मबहादुर चौधरी ।
उनीहरूले अझैसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । त्यसैले, मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागितापछि आआफ्नो क्षेत्रमा स्वागत तथा सम्मान थाप्दै स्थानीय विभिन्न कार्यक्रममा मन्त्रीको रूपमा भाषण गर्दै हिँडेका छन् । सन्तोष पाण्डेयलाई यसअघि पनि मन्त्री भएको अनुभव छ । सोही आधारमा अहिले सरकारले ल्याउने नीति तथा कार्यक्रममा कस्ता विषय राख्ने, स्थानीय विकाससँग कसरी जोड्ने आदि विषयमा सल्लाह सुझावमा केन्द्रित रहेर आफूले अध्ययन गरिरहेको बताए ।
पाण्डेयले आफूले विगतमा सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयको अनुभवको आधारमा अव बन्ने नीति तथा कार्यक्रममा स्थानीय उत्पादनलाई बजारीकरण तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विषयमा आफ्नो क्षेत्रमा जनतासँग सुझाव सङ्कलनमा रहेको बताए । पाण्डे दैनिकजसो आफ्नो क्षेत्र रुपन्देहीमा भएका विभिन्न कार्यक्रममा अतिथि बन्ने गरेका छन् ।
अर्का विना विभागीय मन्त्री धनबहादुर मास्की र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको एउटै गृह जिल्ला दाङ हो । जिल्लाको क्षेत्र नम्बर ३ को १ चौधरी र २ मास्कीको हो । मास्कीको मन्त्री भएको पहिलो अनुभव हो । मन्त्रालयको जिम्मेवारी नपाएपछि मुख्यमन्त्री कार्यालयमा उनी दैनिकजसो जाने गरेका छन् ।
उनको मुख्यमन्त्रीसँगै दाङ जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सम्मान तथा बधाई लिने क्रम जारी रहेको छ । मन्त्री भएको दोस्रो दिनमै आफ्नो क्षेत्रको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।
यस्तै नीति तथा कार्यक्रम र बजेटको विषयमा पनि विना विभागीय मन्त्री भए पनि आवश्यकताअनुसार चासो राख्ने र विज्ञहरूसँग छलफल गर्ने काम भएको मास्कीले बताए ।