गृहपृष्ठ Featured अर्घाखाँचीमा आगलागीमा जलेर ४ जनाको मृत्यु

अर्घाखाँचीमा आगलागीमा जलेर ४ जनाको मृत्यु

अर्घाखाँची ।

भूमिकास्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा मंगलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए । घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जंगलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो । घरमा आगलागी भएपछि निभाउने क्रममा ५ जना आगोले डढेर सख्त घाइते भएपछि अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको थियो ।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा गएराति १० बजेतरि मृत्यु भएको घिमिरेले बताए । थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधबार बिहान ७ बजेतिर काठमाडौंमा निधन भएको उनले बताए ।

जंगलमा कोही व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गर्दै प्रहरीले आलो लगाउने व्यक्तिको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।

८ घर गोठ  जलेर नष्ट 

सन्धिखर्क नगरपालिका–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। कम्तीमा ४ भैंसी जलेका छन्। कुखुरा फर्ममा आगोलागि हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ  जलेर नष्ट भएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ।

सम्बन्धित् समाचार