पाल्पा ।
राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका क्षेत्रका ३ सय ५४ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । ५० वर्ष अघिदेखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा आयोगले यसअघि गत पुसमा २ सय ६२ जनालाई लालपुर्जा वितरण गरेको थियो ।
पहिलो र दोस्रो चरणमा गरी हालसम्म रामपुर नगरपालिका क्षेत्रमा ६ सय १६ जनालाई लालपूर्जा वितरण भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिए ।
पुर्जा वितरणबाट राज्यलाई १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको छ । हालसम्म ९४ रोपनी, १३ आना, २ पैसा ९८ दाम क्षेत्रफलको जग्गालाई पूर्जा वितरण गरिएको छ । २०५५ साल सम्ममा बिक्री वितरण भएका रामपुर नगरपालिकाको ५, ६ र ७ वडाका ७ सय ८३ घडेरीमध्ये पहिलो र दोस्रो चरणमा गरी लालपुर्जा वितरण गरिएको छ ।
तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि साथै रामतुलसी मावि, दरैठााटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले विद्यालय सञ्चालनका लागि तत्कालीन समयमा सरकारी जग्गा बिक्री वितरण गरेका थिए ।








