दाङ ।
लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । गत जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गर्ने छ ।
पोहोर ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपालि त्यो भन्दा कम ४० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ ।
संघबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान कम प्राप्त भएको र चालु वर्षमा राजश्व समेत कम संकलन भएकाले बजेटको आकार घटाउने अर्थ मन्त्रालयका उपसचिव सुरन्द्र पाण्डेले बताए ।
घुमाउरो पारामा सांसदलाई बजेट दिने तयारी
संघीय सरकारले संसद विकास कोष ब्युताएसँगै लुम्बिनीका प्रदेश सांसदले पनि यस्तै कोषका लागि सरकारलाई दबाव दिइरहेका छन् ।
संघीय सरकारले सांसदलाई रकम दिएको भन्दै आलोचना भएपछि प्रदेशमा ‘सांसद विकास कोष’ नभनेर घुमाउरो पारामा सांसदलाई बजेट दिने तयारी गरिएको छ ।
श्रोतका अनुसार प्रदेशसभा सदस्यलाई २ करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेटले सम्बोधन गर्ने तयारी छ । त्यस्तै समानुपातिका सांसदलाई ७५ लाखसम्म योजना छान्ने गरी बजेटमा व्यवस्था गरिने तयारी छ । यसका लागि मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्की छलफलमा जुटेका छन् ।
सुरुमा प्रत्यक्ष निर्वाचित सांसदलाई योजना छान्न दिने, समानुपातिक सांसदलाई सहभागी नगराउने तयारी थियो । तर आफूहरुलाई बजेट नदिने तयारी गरेपछि समानुपातिक सांसदले प्रदेश सभामा बैठकमा यसको विरोध गरेका थिए । समानुपातिक प्रदेश सभा सदस्यहरुले विरोध जनाएपछि अन्ततः मुख्यमन्त्री कार्यालयले समानुपातिक सांसदलाई पनि बजेट दिने तयारी गरिएको श्रोत बताउँछ ।
पोहोर पनि प्रदेशसभा सदस्यलाई सांसद विकास कोष उपलब्ध गराउने तयारी थियो । त्यसपछि राम्रो सन्देश नजाने भन्दै सांसदलाई योजना रोक लगाइएको थियो ।