त्यसबेला आमाको गर्भमा भएको बच्चा चलेको छ या छैन भनेर मेरा बुबा जयप्रसाद प्रसाई चाहिं प्रायः मेरी आमाका पेटमा कान जोड्ने गर्थे । त्यसरी मेरी आमाको पेटमा भएको नानी चलेको टुङ्गो मेरा बुबाले लगाएपछि बच्चा जन्मन्छ भन्ने कुरामा अरु सबैलाई पनि विश्वाश हुँदै गएको थियो ।
ताप्लेजुङ्को हाङ्पाङ्को २०११ साल माघ १५ गतेको कुरा हो । त्यस दिन मेरी आमा भागीरथा प्रसाई रातो माटो खन्न गएकी थिइन् । त्यतिखेर गाउँका अरु नारीहरूसँगसँगै उनीसँग उनकी नजिककी साथी मनमाया विष्ट पनि थिइन् । मनमाया भन्नु दिलबहादुर विष्टकी जेठी श्रीमतीको नाउँ हो । विष्टहरु र हामीमाझ सारै सुमुधुर सम्बन्ध थियो । हाम्रो घर परिसरदेखि कान्लाको ठीक मुनी दिलबहादुर दाइको घर थियो ।
मेरी आमा क्रमशः माटो खन्दै जाँदा बन्दै गएको ओडारभित्र पुगेकी थिइन् । एकसुरमा माटो खनिरहेकी उनलाई माटोको ढिस्को गर्लम्मै भत्किएको पत्तै भएन । अनी त्यसपछि मेरी आमाको जमीनमाथि कुनै सङ्केत नै देखिएन । तुरुन्तै मनमाया भाउजूले आँत्तिएर गाउँतिर फर्केर गुहार मागिन् । उनी जोडले चिच्याएपछि खेतमा काम गरिरहेका शीरमान भूजेल दौडेर त्यहाँ पुगेका थिए ।
मेरी आमालाई माइत जाँदा मेरी हजुरआमाले कपाल बाट्ने रातो फुर्को भएको धागो दिएकी थिइन् । अनि मेरी आमा उक्त धागोले नै प्रायशः कपाल बाट्ने गर्थिन् । त्यसदिन पनि उनको कपालमा सोही धागोको रातो फुर्को बाँधेको थियो । त्यसैले माटाले उनलाई पुरेको ठाँउमा अति मसिनो रातो फूर्को देखिएको रहेछ । अनि त्यसैको आधारमा भुजेलले काँटाले विस्तारै माटो उधिनेर मेरी आमालाई खाडलबाट निकालेका रहेछन् । तर त्यतिखेर मेरी आमा बेहोस थिइन् ।
मेरी आमालाई खाडलबाहिर सुताएर भुजेलले गाँउलेलाई बोलाएछन् । अनि केही समयपछि त्यहाँ मेला लागेछ । सबैजना भएर मेरी आमालाई डोली चढाएर मेरो घर पुर्याएछन् । त्यतिन्जेलसम्म पनि उनको होस खुलेको थिएन । होस नखुले तापनि मेरी आमाका हातखुट्टाचाहिं चलमलाउन थालिसकेका थिए ।
त्यस घटनाका समयमा मेरी आमाका पेटमा सात महिनाको नानी थियो । एउटा भयानक दुर्घटनाबाट बाँचेकी मेरी गर्भवती आमा त्यसपछि चलमलाउन सक्तिन थिइन् । उनलाई दैनिक नित्यकर्म गराउन पनि तन्नाको डोली बनाएर बाहिर र भित्र गराउनु पर्थ्यो । आमाको हालत त्यस्तो भएका कारण देख्ने सुन्ने जो कसैलाई पनि पेटको बच्चा जिँउदो छ भन्ने कुरामा विश्वाश हुँदैनथ्यो । त्यसैले मेरी आमालाई गाँउ घरका आफन्त, इष्टमित्र र आफ्नै जेठाजू वेनुप्रसाद प्रसाईले समेत ‘पेटको बच्चा चलेको छ के’ भनेर सोधी खोजि गरिराख्थे ।
त्यसबेला आमाको गर्भमा भएको बच्चा चलेको छ या छैन भनेर मेरा बुबा जयप्रसाद प्रसाई चाहिं प्रायः मेरी आमाका पेटमा कान जोड्ने गर्थे । त्यसरी मेरी आमाको पेटमा भएको नानी चलेको टुङ्गो मेरा बुबाले लगाएपछि बच्चा जन्मन्छ भन्ने कुरामा अरु सबैलाई पनि विश्वाश हुँदै गएको थियो ।
माटाको पैरोले पुरिएकी गर्भवती नारीको हालखबर बुझ्न त्यस भेकका धेरै मानिस हाम्रा घरमा आउने गर्थे । त्यसरी आउनेमध्ये आफन्त, नातागोताले जडीबुटी मिसाएका खानेकुरा र अरु पनि पौष्टक खानेकुरा ल्याएर मेरी आमालाई खुवाउने गर्थे । त्यसरी सुतिसुती पौष्टिक खानपिनका कारण त्यतिन्जेलसम्ममा मेरी आमाको स्वास्थ्य पनि राम्रो हुँदै आएको थियो ।
आमालाई माटोले पुर्नासाथ दिलबहादुर विष्टहरू मौवाको रूख खोज्न जङ्गल पसेको कुरा केही महिनापछि मेरी आमाले थाहा पाएकी थिइँन् रे ! मौवाको रूखको बोक्राले भाँच्चिएका हाड पनि जोडिन्थ्यो रे । अनि विष्ट दाइहरूले मौवाको बोक्रा खुर्केर घरमा ल्याएछन् । मौवाको बोक्रा कुटेर खड्कुलोमा दुई घन्टा उमालियो रे । अनि त्यो बोक्राको छोक्रा सेलाएपछि मेरी आमाका शरीरभरि टाँसेर कपडाले बानियो । दुईतीन घन्टा, दुईतीन घन्टामा आमाका शरीरभरिको बोक्रा अख्रक्क परेर सुक्थ्यो । अनि हरेक २/२ घन्टामा मेरी आमाको शरीरमा पानी राखेर चिस्याउनु पर्थ्यो ।
यसैक्रममा २०१२ साल बैशाख १ गते बिहानको सूर्योदयसँगै यस पृथ्वीमा एउटा बालकको अबतरण भयो । त्यस घटनाले हाम्रो घरमा फेरि मेला लागेको थियो । त्यसबेलासम्म पनि मेरी आमाको चाहिं पूर्णरुपले चेतना आइसकेको थिएन । तर पनि बच्चाको जन्म स्वाभाविकरुपमा भएको नै थियो । त्यसजमानामा त्यस विकट पहाडी ठाँउमा अस्वाभाविकरुपले बच्चा जन्माउन सकिने अवस्था पनि थिएन । अनि हर्ष बढाईंका साथ त्यस बच्चाको न्वारन पनि धुमधामैले गरिएको थियो । अनि पण्डितहरुले त्यस शिशुको नाउँ नरेन्द्रराज प्रसाई राखेका थिए ।