सुसाइड नोट (Suicide Note)
चैत्र मासको प्रचण्ड घाम । त्यसैमाथि बुटवल नगरी ।
घामको ताप, चाप र रापले सडकको छाती बेस्सरी पोलिरहेको छ । टन्टलापुर घामले सडकमा पानीको मृगतृष्णा जन्माइरहेछ । एकमुठी शीतलता भेट्न पनि हम्मेहम्मे परेको छ । सडक छेउछाउका रूखहरू चुपचापसंग घाम तापिरहेका छन् । मानौँ रूखहरूले चर्को घाममा तपस्या गर्दैछन्, एउटा पात पनि नहल्लाईकन ।
घाम तापिरहेका छन् रे? रूखले पनि ? अझ त्यसैमाथि चैत्र महिनामा बटौलीको चर्को घाममा कसरी घाम तापिरहेका छन् ? तिनलाई जाडो भएको छ र? बेबकुफ ! पागल ! वाहियात कुरा ।
……
दिउँसोको १२:३० तिर,
म होराइजनचोकबाट गोलपार्कतिर जाँदै थिएँ । धेरैबेर कुरेँ । गाडी आएनन् । सोचेँ-हिँड्दै जान्छु, जहाँबाट गाडी पाइन्छन् त्यहीँबाट चढ्छु ।
गन्तव्यविहीन यात्री जस्तै, म घामको प्रवाह नगरी हिँडिरहेको छु । पसिनाले कमिज भिजेर निथ्रुक्क भएको छ । तिर्खाले घाँटीको रुद्रघण्टी सुकेर सुख्खा बगर जस्तै भएको छ । मुखमा र्यालसमेत बाँकी छैन । सबै सुक्यो अनि मरूभूमि जस्तै सुख्खा भएका छन् ओठ र मुख ।
परसम्म पुग्दा पनि गाडी आएनन् । गाडी टन्नै आए, गए । तर गोलपार्कतिर हुँइकिने गाडी आएनन् ।
जे पर्लापर्ला आज हिँडेर नै गोलपार्क पुग्छु भन्दै एकोहोरो हिँडिरहेँ । घामको असर झन् झन् बढ्दै गइरहेको थियो ।
हस्पिटल लाइन पुगेपछि निकै गाह्रो भयो । सोचें–अब त जसरी पनि कुनै साधनमा चढ्नै पर्छ म । अन्यथा म घामको शिकार बन्न बेर छैन ।
त्यहाँ पनि गाडी आएनन् । त्यो दिन नआएका हुन् या मैले मेसो नपाएको हुँ, अनभिज्ञ रहेँ ।
एउटा रिक्सामा मस्तसंग उपरखुट्टी लगाएर सुतिरहेको रिक्सा चालकलाई सोधेँ- दाइ गोलपार्क जाने ?
ऊ मस्तसंग निदाएको थियो । मेरा शब्द उसको कानको जालीबाट भित्र छिरेनन् । सुतोस् मोरो भन्दै त्यसलाई घच्घच्याइनँ ।
केही पर गएर अर्को उखुको जुस पिउँदै गरेको रिक्सावालालाई सोही प्रश्न तेर्स्याएँ । उसले हुन्छ भन्यो । कति पर्छ गोलपार्कसम्मको भनेर सोद्धा १०० रुप्पे भन्यो ।
राजधानीमा १५ रुप्पेभन्दा धेरै भाडा नतिरेको मान्छेलाई बटौलीको भाडाले तर्साइरहेको थियो । मेरो सातोपुत्लो उडेन धन्नै ।
मनमनै उसलाई नमस्कार गरेर फेरि हिँड्ने क्रम जारी राखेँ ।
सोचेँ-आज म हिँडेरै गोलपार्क पुग्छु ।
बटौलीको घाम र गर्मीले मलाई च्यालेन्ज गरिरहेको थियो । आज बटौलीको घामलाई मैले च्यालेन्ज गर्न मन लाग्यो । त्यसैले हिँडिरहेँ । वस् हिँडिरहेँ, घामकै छाता ओढेर ।
बटौलीको घाम र गर्मीले मलाई च्यालेन्ज गरिरहेको थियो । आज बटौलीको घामलाई मैले च्यालेन्ज गर्न मन लाग्यो । त्यसैले हिँडिरहेँ । वस् हिँडिरहेँ, घामकै छाता ओढेर ।
……………………………
झण्डै एक घण्टा पैदल यात्रा पूरा गरेपछि गोलपार्क पुगेँ ।
गर्मीले टाउको रन्थनाइरहेको थियो । पसिनामा चुर्लुम्मै डुबेको थिएँ । कतै ढल्छु कि भन्ने भय थियो मनमा । त्यसैले एकैछिन प्रतीक्षालयमा बसेर शीतलता ताप्ने निधो गरेँ । र आँखा चिम्म गरेर बसेँ, लामो श्वास लिएर ।
“सुसाइड नोट”
एकैछिनपछि आँखा खोलेँ । केही आराम भएको अनुभूति गरेँ ।
जब नजर पैदलमार्गमा बज्रिए, त्यहाँ एउटा कागज देखेँ ।
सुरुमा सोचेँ-कसैले चटपटे खाएर हुर्र्याएको कागज होला ।
तर कागज सफा देखिन्थ्यो । त्यहाँ वरिपरि अन्य कागज पनि थिएनन् । त्यसैले केही लेखिएको छ कि भनेर हत्तपत्त टिपेर ल्याएँ कागज ।
पट्याइएको थियो कागज । खोलेर हेर्न हतार गरेँ। मानौँ त्यो प्रेमपत्र हो र मलाई मेरी प्रियसीले लेखेकी हुँदी हुन्, प्रेमको मसीले हृदयको प्रेम ।
जब कागज खोलेर हेरेँ,
पानाको सिरानमा लेखिएको थियो “सुसाइड नोट” ।
धन्नै मेरो होस उडेन । कसले लेखेको होला सुसाइड नोट ?
मलाई थाहा थिएन–आत्महत्या गर्ने चिर्कटो लेख्दा सिरानमा हेडिङ लेख्छन् भनेर ।
तल पढूँ कि नपढूँ, द्विविधाको घट्टामा पिल्सिन पुगेँ ।
तर जे लेखेको भएपनि तल नजरका घोडा नदौडाएसम्म मनलाई चैन मिलेन । अनि दौडिए मेरा नयनका घोडा सुसाइड नोटका प्रत्येक कारुणिक शब्दशब्दमा ।
त्यहाँ लेखिएको थियो,
“आदरणीय बुवा-मम्मी !
मलाई माफ गरिदिनू होला ।
हजुरहरूको सपना पूरा गरिदिन मैले आफ्नो सपनाको बली दिएँ । आफ्नो लक्ष्यलाई तिलञ्जली दिएँ ।
आफ्ना रहरहरूलाई मनमा नै नजरबन्दमा राखेर हजुरहरूको इच्छा पूरा गर्नतिर लागेँ ।”
बाआमाको सपना पूरा गर्नु सन्तानको लागि त्यो भन्दा खुसीको कुरा के हुनसक्छ र? अचम्म लाग्यो ।
तल पढ्दै गएँ,
“बुवा नेपाल सरकारको सचिव हुनुहुन्छ हजुर । हजुरसंग अथाह सम्पत्ति छ । धनको कमी थिएन सायद । त्यसैले मलाई डाक्टर बनाउन खोज्नुभयो । पैसाले किनिएको डाक्टर ।
हजुरलाई थाहा नै थियो,
मलाई मेडिकल लाइनतिर फिटिक्कै मन थिएन ।
मलाई पत्रकारिता पढ्न मन थियो । त्यसैले +२ पनि जोर्नालिज्म पढ्न चाहन्थें । हजुरले दिनुभएन । जबर्जस्ती साइन्स पढ्न लगाउनुभयो । मन नलागीनलागी +२ बल्लबल्ल पास गरेँ ।
मलाई बोल्न निकै मन पर्दथ्यो । राष्ट्रियस्तरका वादविवाद र वक्तृत्व कलामा पनि प्रथम भएकी हुँ कैयौंपटक । डिवेट मेरो सबैभन्दा मन पर्ने विषय थियो ।
म एक सक्षम र सफल पत्रकार बन्न चाहन्थेँ ।
बोलेर जिन्दगी चल्दैन । के हुन्छ जाबो पत्रकार पढेर र बनेर !
डाक्टर बन्नुपर्छ । त्यसमा छ प्रतिष्ठा र इज्जत ।’ हजुरले सधैँ यस्तै भन्नुहुन्थ्यो ।
मलाई डाक्टर पढ्ने रुचि अलिकति पनि थिएन । +२ साइन्स पढेपनि ब्याच्लरमा पत्रकारिता पढूँला भनेकी थिएँ । तर मेरो केही लागेन ।
जबर्जस्ती एमबीबीएस पढ्न लगाउनुभयो । लाखौँ खर्च गरेर मलाई प्राइभेटमा डाक्टर पढाउन अग्रसर हुनुभयो ।
कैयौंपटक फेल हुँदै पढ्दै म डाक्टर बनेँ तर आत्मादेखिको डाक्टर बनिनँ । हजुरको पैसाले मलाई डाक्टर बनाएको हो बुवा ।
म डाक्टर बनेपनि मेरो आत्माले मेडिकल लाइन स्वीकार्नै सकेन । नाम मात्रको डाक्टर बनेर म के गरूँ?
म ढुक्क थिएँ र आत्मविश्वास पनि थियो, मैले पत्रकारिता क्षेत्रमा राम्रो गर्न सक्ने थिएँ । तर मेरो सपना सबै तुह्यो बुवा ।
म जबर्जस्ती बनाइएको डाक्टर र नक्कली डाक्टरमा तात्त्विक भिन्नता के नै रह्यो र ? म सकिनँ बुवा यस्तो जिन्दगी बाँच्न ।
सुगालाई फलामको पिञ्जडामा थुनेपनि, सुनको/हिराको पिञ्जडामा थुनेपनि आखिर पिञ्जडा त पिञ्जडा नै हो नि बुवा, होइन र? मलाई यो पिञ्जडाबाट मुक्त बनाइदेऊ भनेर पुकार गर्दा तलाई सुनको पिञ्जडामा राख्छु भन्नू र मेरो इच्छा विपरीत टन्न पैसा खर्चेर भएपनि तिमीलाई डाक्टर नै बनाउँछु भन्नु एकै भएन र बुवा ?
यति शिक्षित भएर पनि सन्तानको इच्छा विपरीत चल्ने र सन्तानको भविष्य उल्टै अन्धकार बनाइदिने बुवाआमालाई मेरो सलाम छ ।
मेरो जिन्दगी जस्तो भएपनि भाइलाई आफ्नो इच्छाको विषय पढ्न दिनू बुवा । मैले जस्तै भाइले पनि सबैथोक त्यागेर हिँड्न नपरोस् ।
म जिन्दगीदेखि हारेकी छैन बुवा । ढुक्क हुनुस् म सुसाइड गर्दिनँ । तर म घर छोडेर हिँडेकी हुँ । मलाई खोज्ने प्रयास नगर्नुहोला ।
उही सुनको पिञ्जडामा थुनिएकी र ऐले पिञ्जडाबाट फरार भएकी हजुरहरूकी छोरी ।”
हे ! भगवान् !
मोरीले माथि सुसाइड नोट लेखेपनि धन्न सुसाइड गरेकी रैनछे । बुवाआमालाई तर्साउन त्यस्तो लेखेकी होली ।
पढ्दै जाँदा मलाई निकै डर लागेको थियो । सोच्दै थिएँ–फेरि एक कलिलो फूलले आत्महत्या गर्नेभयो ।
किन्तु मेरो प्रक्षेपण गलत साबित भयो । म खुसी भएँ ।
प्रिय मानुषी !
मेरा बाआमा अशिक्षित हुनुहुन्छ । शिक्षित भएर सन्तानको भविष्यमाथि खेलवाड गर्ने बुवाआमाभन्दा मेरा जस्तै शैक्षिक रूपमा अशिक्षित बुवाआमा भएको कैयौं गुणा जाती । जसले मलाई कहिल्यै आफ्नो निर्णय लिनमा बाधक बन्नु भएन ।
ऐले घोत्लिएर सोच्छु,
त्यो सुसाइड नोट किन मेरै हात पर्यो होला ? अनि तिनका आमाबाले के गरे होलान् ? तिनी डाक्टरी कता गइन् होला त्यो कागज त्यहाँ खसालेर? यी प्रश्नहरू मन र मस्तिष्कमा पेन्डुलम बनेर हल्लिरहेका छन् ।
© कविन्द्र कप्रल