‘समय भ्रुण’
तिमिलाई जहाँ देखें
त्यहीँ देखि,
तिमिलाई जहिले देखें
त्यही क्षणदेखि,
म रित्तिंदै रित्तिदैं
खाली हुँदै गएँ
एकदम पात जस्तो
एकदमै प्याला जस्तो
तिसौं वसन्त आए,
तिसौं वर्षात आए,
गृष्म, शरद, शिशिर
हिउँद लस्करै आए, गए
र म किनारामा उभिएर हेरिरहें
न पात छुन सकें
न भेलमा हेलिन सकें
समय !
पिरो धुँवा जसरी बित्यो
उरन्ठ्याउलो धुप जसरी गुज्रियो
अहिले
यति मिस गरेको छु
वर्षातका ती एक एक थोपा र तिर्खा
शरदका ती एक एक थूंगा र समय
शिशिरका ती ठीहीरो र घामको न्यानो
एउटै थूंगाभित्रका
पुंकेशर र स्त्रीकेशर
कुनै किरा वा माहुरीको स्पर्शपछि
निषेचित भएझैं
तिम्रो उपस्थीती,
तिम्रो स्पर्शले
म आफैभित्रको परागसंग मिसिएँ
म आफू निहित संसारसंग जोडिएँ
म आफूभित्रको जीवनसंग एकाकार बनेँ
र सारा पूराना कुरासंग अलग्गिएर
एकदम रित्तो भएँ
यो असार
जीवनमा पहिलोपल्ट
असार बनेर आयो
श्रावणका
थोपा र वाछिटा, समय र संवेदना
निर्झरी बनेर आए
म पात बनेर भिजें
म पात्र बनेर भरिएं
म प्याला बनेर
टलपल भएँ
हेर! न
तिम्रो आउनुले
म प्रेमको गर्भादान गरेकी
प्रेमी भएर
व्युँझिएँ
जीवन युगिन
नवलपुर