सम्झना
सोच्दछु
अचेल लुकि छिपी पल्टाउँछौ कि पल्टाउँदैनौ होला
कसैले नदेख्ने गरि अल्मारीमा
तिमीले लुकाएर राखेको
शिरिषको फूलको मध्य पाना?
र हेर्छौ कि हेर्दिनौ होला
सुकेर दह्रो भएको गुलाफको फूल
जसमा तिमीले भन्ने गरेको
“मेरो आधा प्राण” अड्डिएको छ?
या कतै मिल्काइसक्यौ कि
मेरो आधा प्राण तिमीले कुनै कण्टेनरमा ?
तिमी भन्ने गर्थ्यौ कि
तिम्रा आँखा भित्र
मलाई युगौँ युग सजाएर राख्नेछौ
तर अचेल
कतै तिम्रा आँखाभित्र राखिएको मैले
बिझाएको त छैन तिम्रै आँखा भित्र कसिङ्गर बनी ?
त्यसो भएमा बिन्ती कसैलाई
फुक्न लगाऊ तिम्रा आँखा र
उडाइदेऊ मलाई तिमीबाट धेरै पर ।।
तिम्रा स्मृतिको आँगनमा
सम्झनाको आगमन हुँदा
म आउँछु कि आउँदिन होला
तिम्रो नाम बोलाउँदै?
थाहा छैन
तर
वर्षायामको धमिलो खोला झैँ
धमिला मेरा आँखा अघि
जब मध्यरातमा
देखापर्छ कुनै धमिलो आकृती
तब हठात यी ओठले बर्बराउँछन् तिम्रो नाम ।।
सम्झनाको किनारामा
मैले तिम्रो नाम फूलाएको वर्षौँ बितिसकेछन् ।
-सफल सुरज