यात्रा
– मनोज मुस्किल
कहिलेकाहीँ
नचाहँदा नचाहँदै
आफ्नै आँखा अघि यसरी पनि छुटोस कुनै यात्रा
आकाशमा माथि माथि उडिरहेको चङ्गा उतै
छुटोजस्तो हावामा
अँध्यारो स्टेसनको कुनै पुरानो बेन्चमा हिँड्नुअघि नै उधृएर छुटेजस्तो धागो
गिलासमा छाडेर छाप ओठहरुको
छुटेजस्तो कुनै चिया पसल
छाडेर प्वाँख जमिनमै
छुटेजस्तो उडानमा चराहरू
आँसुहरूको यात्रामा आँखा छुटेजस्तो
चोटहरुको यात्रामा खत छुटेजस्तो
नदिहरूको यात्रामा किनारा छुटेजस्तो
छुट्दै जाउन
भबिस्य खोजी हिड्ने दोबाटाहरू
हृदय जोडिदिने पुलहरू
प्रेम चिहाइरहने मोडहरू
सन्नाटा भुकिरहेने गल्लीहरू
बर्षौँदेखि आफ्नै छाया पर्खिरहेका रुखहरू
सबै सबै छुट्दै छुट्दै जाउन
कहिलेकाहीँ
नचाहँदा नचाहँदै
आफ्नै आँखा अघि यसरी पनि छुटोस कुनै यात्रा
र भेट होस तिमीसँग
तर तिमी सायद त्यो यात्रा हौ
जो बारम्बार छुटिरहन्छ म बाट