प्रतिकुलतामै फूले फूलहरू …..
मधेसको उर्वर जमिन बिना पनि
बाँझिएको रुखो पाखाभरी
पाहाडको भौगोलिक
बिकटता नभनि
आफै उमृएर
सौन्दर्यताको प्रयाय बन्दै
रक्त रंजित आकारमा
सधै किन फूल्छ
लाली गुराँस !
न घामको स्पर्श
न दिनको साया
न छुन्छ कुनै उज्यालोले कुनै दिशाबाट
र पनि एकलास बिच
कतै रातको सन्नाटामा
मगमगाउने सुभाष छर्दै
सेताम्य आकारमा
किन फूल्छ पारिजात !
नकारात्मकतामा हुर्किन नसक्ने भए
सकारात्मकता
क्रुरतामा जन्मिन नसक्ने भए
कोमलता
प्रेमको प्रतीक बनेर
जगडिएका क्रूर काँडाहरूको बिचमा
सन्तुष्टिको मीठो हाँसो
मुस्कुराएरै
किन फकृन्छ गुलाव !
हिलोको बिचमा हुर्किएर
फोहोरमै किन फूल्छ कमल
हरेक चैते हुरिको प्रकोपपछी
बतासले झारेर
भुइभरी भए पनि कोपिला
फेरि चट्टानको बिचमा
आफै उमृएर चाँदी जस्तै
किन मुस्कुराउछ सुनाखरी !
आफू संगै हुर्किएको
गलत प्रवृतिलाइ
जन्मजात स्वभावमा
नामाकरण गर्नेहरू हो
आफू भित्र जिवित
बिकृत मानसिकतालाई
पारिवारिक विशेषता
र सामाजिक परिवेशमा
आक्षेपित गर्नेहरू हो
म एउटा प्रश्न गर्न चाहन्छु
कृपया भन्नुहोस्
यदि परिवेशले मात्रै
स्वभाव र नियत निर्धारण गर्छ भने
हिलोको कमल जस्तै
त्यो युगमा
हिरण्यकशिपुको पुत्र बनेर प्रल्हाद
अनि रावणको देशमा पनि
किन जन्मिए बिभिषण !!
सुमिना ‘अभिलाषी’
रुपन्देही बुटवल !