गृहपृष्ठ खबर दशैं: लंगुरबुर्जा र बच्छ्युँको टोकाई  

दशैं: लंगुरबुर्जा र बच्छ्युँको टोकाई  

प्रकाशित मिति:

अहिलेको कंक्रीट शहर ऊ बेला, शान्त शितल हराभरा गाँऊ थियो । हामी भर्खर हाप कट्टुबाट बेलिबटन डिमान्ड गर्ने दिनताका थियौं । त्यतिबेला दशैं एउटा महान पर्व नै हो जस्तो लाग्थ्यो । हामी मधेसको गर्मीमा हुर्किएका केटाकेटी, गर्मी घटेर शितलताको आगमन हुने याम । कान समाऊ, उठवस , कुखुरा बन जस्ता यातनालय जस्तो विधालयको जेलमय संसारबाट पाईने लामो उन्मुक्ति, हुनेखाने साथीसंगीका हातवाट  पैसा, सुका, मोहोर र मौका परे ढ्याक हात पार्न खेलिने लंगुरवुर्जा, कौडा( करविरको दानाको), विंगो जस्ता खेलको रौनक, नयाँ लुगा । ‘स्वतन्त्रता र पैसाको रमझम हुने चाड दशैंको मोहीनी मन र मष्तिस्कको भित्री तहसम्म गढेको हुन्थ्यो ।दशैं विदा हुनु अघिदेखी नै दशैंमा लंगुरबुर्जा खेलाउने दाऊ  थियो मेरो, त्यसैले उतिसारो नपाईने सिमेन्टको बोरा साथीको घरबाट ल्याएँ । हेन्डीप्लास्टको बट्टा जोहो गरें। समस्या थियो गोटीको । त्यसका दुई विकल्प थिए । या त दुई जना साथी हुने र आधा आधा पैसा लगानी गरेर खेलाउनु, या त कुनै काठको गोटी बनाउनु । म दुवै विकल्पका लागि अघि बढें ।साथीले घरबाट गाली खाएपछि पछि हट्नुपर्‍यो । भारतबाट आएर सिकर्मी काम गर्ने मिस्त्रीलाई हैरान पारेर  मैले एक ईन्च वर्गाकार गोटी तयार पारें ।

विहान उठ्ने बित्तिकै गाई फूकाएर घरबाट निस्क्यो, अनि खुला चौरमा गाई छोडेर साथीहरु बट्याएर लंगुरबुर्जाको पाल थाप्यो एउटा नोठ पैसा हुन्थ्यो- जुन चुरोटको खोलबाट बनाईन्थ्यो । अर्को डलर हुन्थ्यो, जुन सुका, मोहोर र साँच्चैको डलरझैं मानिन्थ्यो । अहिलेको हाम्रो नेपाली नोठ र डलर जस्तै, सटही दर पनि अहिलेकै जस्तै थियो । एक डलर बरावर एक सय नोठ ।विहान स्कुल अघाडी र साँझ स्कुल पछाडी खेलाउँथें । अनि गाईले बाली चरेर एकदिन कान निमोठिएपछी, भाईलाई हात लिएं । आखिर पैसाको कुरा थियो । सुन्तला मिठाईँ मिसाएर भाइ र मेरो सम्झौता बन्यो । दशैं विदा शुरु भएपछी चाहिँ, काम कारोवार फैलिंदै गयो । नेपाली नोठ छोडेर, डलरमा मात्रै कारोवार हुन लाग्यो । आधा पैसा दिएर अठ्ठाईस विगाहबाट पूरनो गोटी मगाएं । दुई दिनपछि पाल पनि ल्याएँ । त्यो दशैं, वास्तबमै दशैं थियो ।

हातमा कन्डक्टरको भन्दा वेशी नगद पट्याउँथें । साथी भाई सबैले वाह वाह गर्थें । रौनक थियो । घरको सोह्र सराद चतुर्दशीमा पर्ने हुंदा फूपू लिन कोईलपानी गाऊँ जानुपर्ने भयो । खाशमा चाहिँ मलाई जानै मन थिएन । बुवाले भनेपछी मान्नै पर्‍यो ।स्कुलबाट फर्केपछी गोटी र पाल थन्क्याएर, नगद चाहिँ आधा लुकाएँ । आधा, करीव डेढसय गोजि हालेर कोईलापानी लगें । फुपुको गाऊँ पनि रमाईलो थियो, भाईहरु खुव रमाईलो गर्थे । सांझभरी लंगुरबुर्जाको महात्म्य सुनाईयो । फूपूलाई श्राद्ध्को निम्तो दिएर, रोटी र दूध खाइयो । ठूल्ठूला सालका मुढाले बारेको भेन्टिलेटेड घरमा रात काटेर बिहान सवेरै, महाराजा थान जंगलमा पिङको बलो काट्न लर्को बटालियन केटा लिएर अघि बढियो । लंगुरबुर्जाको कथा , भाईरल बन्यो । प्रमाण गोजिभरि थियो ।

करीव एक घन्टा जंगलको बाटो हिंडेपछी , महाराजा थान आईपुग्यो । त्यहाँ एकैछिन थकाई मारेर, चिसो पानी पियौं । सबैले ल्याएको मकै, भट्ट, च्युरा , सुक्का रोटीका टुक्रा सबै एकै ठाऊँमा मिसाएर खायौं । अनि जंगलमा सर्प, बिच्ची, बारुलो भेटिन सक्ने हुंदा जोगिएर अघि बढ्ने सल्लाहा पनि गर्‍यौं । हामी अग्लो, सुरिलो र सकेसम्म सालको रुख खोज्दै अघि बढ्यौं । एउटा रामविर भाइ अलि वेशी नै छुचो रहेछन । सबैलाई उछिन्नुपर्ने, दौडिनुपर्ने । त्यस्तैमा एउटा झुसे बारुलोको गोला देखियो । सतर्क हुँदै अघि बढ्दै थियौं । त्यत्तिकैमा रामविरले सालको पातमा गोलो बनाएर बसेको बच्छ्युँको गोलोमाथी धावा बोलेछन । आतंक शुरु भैहाल्यो । भागाभाग गर्‍यौं । उसलाई पाँच सात वटाले चिलेछ । मेरो पेटमा आएर एउटा बस्यो । मैले सर्ट उचालेर चिच्याउन थालें । मेरो फुपुको छोरा आएर पातले टिपेर त्यसलाई मिल्क्याईदिए । त्यत्तिकैमा अर्को एउटा आएर गर्धनमा चिल्यो । ओहो ! त्यो दुखाई । दुखाईको पनि गहिराई हुंदोरहेछ । यति दुख्यो, चिटचिट पसिना आयो । मुख सुक्यो ।रिंगटा लाग्यो ।  भाग्नै मुश्किल भयो । नभागे अरुले पनि टोक्ला भन्ने डर । भाग्दै गर्दा, कुन शिल्लिले अघिको बारुलोलाई ढुङ्गा हानेछ । ओहो ! अब बसिनसक्नुको आतंक भयो । सम्झिएँ, यसैगरी फर्किए होलान ऊ बेला अंग्रेज सेना नेपाली सेना देखेर ।

मलाई भाईले मन्दिरको कुनामा लुकाए । सबै तितर बितर भए । रामबिर बेहोस भएछन । ठूलो ढुङ्गाको फेंदामा दुईजना साथी मिलेर पानी छर्किंदै थिए । मलाई उसको निकै माया लाग्यो । आफ्नो दुखाई विर्सेर उनी नजिकै गएँ । जतिसक्दो चाँडो उसलाई मेडिकल लानुपर्थ्यो । हामीले झ्याईँकुटी पारेर तल झार्न लाग्यौं । मोहनले पाती निचोरेर चिलेको ठाऊँमा चुहाईदिंदै थियो । अलि तल आएपछी बिस्तारै उसको होश आयो । ओठ, केरा जत्रो भयो । कान रातो, तातो सुन्निएको थियो । सबैले उसैलाई गाली गर्दै, कसैले बलो काट्न नपएकोमा पछुतो मान्दै , कसैले उसलाई पानी खुंवाउँदै ओह्रालै ओह्रालो झर्‍यौं । उसलाई घर नजिकै छोडेर, सबै लाखापाखा लाग्यौं । उसलाई घरकाले उपचार गर्न लगे । हामी त्यहि गाउँका अलि पाका केटाहरुले खेलाउन लागेको लंगुरबुर्जाको खालमा झुम्मियौं । मैले पनि सुका बाट डब्ल्याउँदै थाप्दै गएं । थाप्दै गएं । थाप्दै गएं । पर्दै परेन । छक्का दाऊ परिरह्यो, पटक पटक । मेरो हुकुममा दाऊ लाग्दै लागेन । भए भरिको पैसा झ्वाम भएपछी, रोउँ रोउँ लाग्यो । बिहान सम्मको स्टारडम सम्झेर रुन पनि भएन । बरु त्यो बच्छ्युँले अलि वेशी टोकिदिएको भए पनि, यहाँ खेलिंदैनथ्यो । पैसा लुटिंदैनथ्यो जस्तो लाग्यो ।

मलाई रित्याएपछी उनिहरु खुव हाँसे । उनिहरुले टायरको टुक्राबाट बनाएको ट्वाक प्रयोग गरेका थिए । औंला छिराएर तीन गोटी नचल्ने गराउँदा रहेछन । बाँकी तीन गोटी चिहाएर हेरीहेरी राख्दा रहेछन । पूरै झ्याली गरेछन । तर पैसा उनीहरुसंग गैसकेको थियो । लड्न, खोस्न सकिंदैनथ्यो । त्यत्रो पैसा हारेको कुरा फेरि गाउँभरी भाईरल भयो । म फुपुको छेऊ लागेर, घर फर्किएँ । धन्न पूरै पैसा लगिएनछ । आधा जोगियो । त्यसको खास अर्थ होला नि भनेर टायरवाला ट्वाक बनाउने योजना बनाएर हिंडिरहें ।
त्यसपालीको दशैंमा बच्छ्युँको टोकाईभन्दा वेशी दुख्ने बन्यो, लंगुरबुर्जा । सम्झिईरहन मन लाग्ने खालको ।वास्तवमा हामी सुख खोज्छौं । तर सुखका भन्दा दु:खका दिनहरु मिठोगरी आईरहने रहेछन् ,सम्झनामा । यस्तै यस्तै दु:ख र सुखका लामो शृंखला भित्र निर्मित एउटा चौतारी न रहेछ दशैं ।

सम्बन्धित् समाचार