दशैं -खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे। जताततै हरियाली हुन्थ्यो। धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आहा! कति मिठो लाग्थ्यो। धानको बाला वतासमा बयेली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो।
एका बिहानै आमाले गोबरले आँगन लिप्थिन्। कमेरोले घरको भित्ता र ओसरा(पिँढी) पोत्दै भन्थिन्, “आजबाट दशहरा सुरू हुन्छ।” अनि थाहा पाउँथेँ आजबाट दशैँ सुरु हुन्छ भनेर। बेलुकी तीन, चार बजेतिर टर्चको काम नलाग्ने पुरानो ब्याट्री आमाले ढुंगाले फुटाउथिन् । ब्याट्रीबाट कालो धुलो निस्कन्थ्यो । त्यो कालो धुलो एउटा कचौरामा राख्थिन् । अर्को कचौरामा सेतो चुनको धुलो राख्थिन् । छुट्टा छुट्टै कचौरामा राखिएको सेतो र कालो धुलोमा पानी हालेर झोल बनाउँथिन् । कप्टेरोले घर र गुहालीको ढोकाको छेउमा दुईटै भित्तामा चुन र कारीख(कालो धुलो) ले टाउको,आखाँ र कपाल, हात, खुट्टा भएको दुई जुईओटा साना साना मूर्ति बनाउँथिन् जसलाई डाइन- जोगीन भनिन्थ्यो।
डाइन जोगीनको मूर्ति बनाइसकेपछि सुतीको सानो कपडामा थोरै हिंग राखेर सियो धागोले त्यो कपडालाई सिलाएर सानो जन्तर जस्तो बनाउँथिन्। त्यो जन्तर र लसुनको दुई तिनओटा बिजुला धागोमा उनेर मेरो घँटीमा बाँधिदिन्थिन्। “यो माला दशैँभरि लगाउनुपर्छ। यो माला लगााइराखे भने नराम्रो शक्ति र बोक्सीहरूले कुनै टुनामुना र जादुमन्तर तँ माथि गर्न सक्दैन।” भन्थिन् ।
बेलुकी अँध्यारो हुनुभन्दा अगाडि ठुलो मादल बोकेर चमार सबैको घर, घरमा मादल बजाउन आइपुग्थ्यो। जसलाई ढोल बजाउनु पनि भनिन्थ्यो। “ढोल बजाए भने नराम्रो शक्ति घरमा प्रवेश गर्न पाउँदैन। ढोलको आवाज सुनेर काल र नराम्रो शक्ति र वर्षा याममा निस्केका सर्पहरू टाढा भाग्छन् ।”आमाले भन्थिन् । दशैँको पहिलो दिन कलशमा पानी भरेर सबैले गोसाइ(देउता) घरमा राख्थे। दशैँभरि बाहुनलाई बोलाएर कलशमा पूजा गर्न लगाउँथे।
अरु वेला हामी टोलभरिका केटाकेटीहरू राति अवेलासम्म डगहरमा खेलिरहन्थ्यौँ तर दशैँ परेको दिनदेखि बेलुकी हुने बित्तिकै हाम्रा आमा, बुबा हामीलाई खेल्न दिँदैनथे। हामीलाई डाक्दै घर बोलाउँथे। नसुनेझैँ गरेर खेलिराखेको वेला हामीलाई लिन आउँथे। जबरजस्ती हाम्रा हात तानेर घर लग्थे। बोक्सीहरूले टुनामुना गरिदिन्छन् भनेर हामीलाई खेल्न दिँदैनथे। खेल्न नपाउँदा हाम्रो मन खिन्न हुन्थ्यो। अर्कोतिर बोक्सीले केही गर्लान् कि भनेर डर पनि लाग्थ्यो। त्यतिखेर सोच्थेँ बोक्सी हुन्छन् र ? यदि हुन्छन भने कस्ता देखिन्छन्?
गाउभरिका मानिस आ-आफना घरमा घट्स्थापना, पन्चमी, सप्तमी, अष्टमी र दशमीको दिन धामी, झाक्रीलाई बोलाएर घरमा देउता छ कि छैन भनेर देउता घरमा बिहान र बेलुकी पूजा गर्न लगाउँथे। जसलाई घर जगाउनु पन भनिन्छ। “यही दिन गाउँ सुनसान भएपछि मध्य रातमा गाउँभन्द पर एकान्तमा बोक्सी आइमाईहरू टाउको र हातमा बलेको दीयो बोकेर नांगै नाच्छन्। यही दिन जेठो सन्तान र सिरीमानको बली चढाएर आइमाईहरू बोक्सी सिक्छन्। बोक्सीको मन्त्र अढाइ अछरको मात्र हुन्छ रे” भनेर आमाले भन्थिन् “दशैँमा दुर्गाको दशओटै द्वार खुल्ला हुन्छ। माता दुर्गा र काली दुवै जना डाइन(बोक्सी) हुन्छन्। त्यसैले दशैँमा डाइनहरूलाई यिनीहरूले रोक्न सक्दैनन्। सबै द्वार खुल्ला भएकोले नराम्रो शक्ति र डाइनहरूले आँखा लाउन नसकोस् भनेर घर र गुहालीको भित्तामा कारीख चुनको डाइजोगीन बनाउँछन र केटाकेटीको घाटीमा हिंगको जन्तर र लसुनको बिजुलो घँटीमा बाँधिदिन्छन्।” आमाको कुरा सुनेर मलाई आचम्म लाग्थ्यो।
सन्तान नहुने र ठुलो कष्टबाट मुक्त भए भने दुर्गााको मूर्ति बनाउने भाकल मान्छेले गर्थे। इच्छा पुरा भएपछि दशैँमा भाकल गरेको मान्छेले दुर्गााको मूर्ति गुहालीमा बनाउथे। गाउँमा मूर्ति बनाएपिछ हामी केटेकेटीलाई झन रमाईलो लाग्थ्यो किनकि मेला प्रत्येक दिन लाग्थ्यो। बिहान बेलुकी भजन कीर्तनले गाउँ नै गुन्जयमान हुन्थ्यो।
दशैँको सातौँ दिन अर्थात फुलपातीको दिन आमाले बिहानै घट्स्थापनाको दिन बनाएको डाइनजोगीनको मूर्तिलाई खुर्पाले खौरेर मेटाउथिन् र भिता पोत्थिन्। एउटा कचौरामा अरवा चामल भिज्न दिएकी हुन्थिन्। चामल भिजिसकेपछ सिलौटामा लोरोहोले भिजेको चामल पिस्थिन्। पिसेको चामल गिलो पिठो बन्थ्यो। गिलो पिठो थालमा राख्थिन्। त्यो पिठोमा कान्छी औँला र कान्छी औँलाको मुनिको हत्केला पिठोमा चोप्दै डाइनजोगीनको मूर्ति मेटाएको ठाउँमा घरको ढोकोको दुवैैपट्टि पिठोमा हात डुबाउँदै भित्तामा राख्थिन्। भित्तामा पिठोबाट एक किसिमको बुट्टा निस्किन्थ्यो। त्यो बुट्टामाथि आमाले सिन्दुरको टीका लगाइदिन्थिन्। सेतो बुट्टामाथि रातो सिन्दुर झन चम्किलो र राम्रो देखिन्थ्यो। भित्तामा कोरिएको बुट्टाले घर,आँगन झन सुन्दर र बेउली झैँ सजिसजाउ देखिन्थ्यो।
फुलपातीकै दिन निसन्तान दम्पत्तिहरू बेलुकी मूर्ति बनाएको ठाउँमा आउँथे । धामीझाक्री र गाउँका आमाहरू मूर्तिको छेउमा बसेर थरिथरिका भजन गाउँथे । धामीले केके मन्त्र उच्चारण गर्दै उभिरहेको दुर्गााको मूर्तिको हातमा रातो गुलाबको फुल राखिदिन्थ्यो । सन्तान नहुने दम्पतिलाई दुर्गााको मूर्तिको हातमुनि आँचल फैलाएर बस्न लगााउँथे । मिठो स्वरमा नरोकिकन आमा र धामीहरू कीर्तन गाइरहन्थे। मूर्तिको हातबाट निसन्तान दम्पतिको आँचलमा फुल नझरून्जेलसम्म कीर्तन गाइरहन्थे। फूल आँचलमा झरेपछि बल्ल कीर्तन गाउन बन्द गर्थे । कीर्तनको धून बिलापमय हुन्थ्यो।
धामीले पहिलेकै तरिकाले फेरि मन्त्र जाप गर्दै मूर्तिको हातमा फूल राख्थ्यो र अर्को निसन्तान दम्पतिलाई उस्तै तरिकाले मूर्तिको छेउमा बस्न लगाउँथ्यो। कसैको आँचलमा फूल चाँडै झर्थे भने कसैकोमा ढिला झर्थ्यो, कसैको आँचलमा झर्दैझर्दैन्थ्यो । फुल आँचलमा झर्ने दम्पति चाँडै बुबा आमा बन्ने अनुमान गरिन्थ्यो भने फुल आँचलमा नझर्ने दम्पतिको सन्तान नहुने विश्वास गरिन्थ्यो । आमा कीर्तन गाउन गएको वेला आमाको छेउमा बसेर सबै दृश्य म हेरिरहन्थेँ र सुनिरहन्थेँ।
अष्टमीको दिनबाट मूर्तिको अगाडि बोकाको बली दिन सुरू हुन्थ्यो । मेरो घरमा पनि मासु पाक्थ्यो । आफन्तहरू जम्मा हुन्थे । सहरमा बस्ने दाजु, भाउजु र दिदी,भिनाजु आउथे । सहरबाट बुबा, आमा र मेरो लागि नयाँ लुगा ल्याइदिएका हुन्थे । त्यही लुगाा लगाएर म मेला हेर्न जान्थेँ । नयाँ लुगाा लगाएर मन फुरूड. हुन्थ्यो।
दशैँमा गाँँउ नजिकैको बजारमा मेला लाग्थ्यो । जललाई दुर्गा मेला भनिन्थ्यो । बजारका सबै व्यापारीहरू चन्दा उठाएर बजारमा दुर्गाा, काली, लछ्मी, सरस्वती र गणेशको मूर्ति बनाएर मेला लगाउथे। दुर्गााको खुट्टामुनि राछसको मूर्ति हुन्थ्यो। त्यो राछसलाई दुर्गााले लातले कुल्चेर दाहिने हातले राछसको भुँडीमा त्रिशुल घोपेकी हुन्थिन्। मेला हेर्न गएको वेला दुर्गााले राछसलाई त्रिशुल घोपेको दृश्य हेर्दा डर लाग्थ्यो । आमाको हात समात्थेँ। दुर्गााको मूर्ति हेरेर मनमा एक प्रकारको सहास पलाउँथ्यो। लाग्थ्यो दुर्गाा माताले राछस र दुष्टहरूको सर्वनाश गर्छिन्।
दशमीको दिन मेला सकिसकेपछि बेलुकी दुर्गााको मूर्तिलाई नजिकैको तलाउ वा पोखरीमा डुबाउन लग्थ्यो जसलाई मूर्ति भसाउनु पनि भनिन्छ। देउता घरमा राखिएको कलशको पानी घामी मार्फत् घरको छाना र आँगनमा छर्किन लगाइन्थ्यो । त्यसपछि हाम्रो घरमा दशैँ समाप्त हुन्थ्यो।
दशैँ मनाउने सबैको आफ्नै चलन भए झैँ हाम्रो आफ्नै चलन छ। दशैँमा पिड. खेल्ने, जमरा र टीका लगाउने चलन हाम्रोमा छैन् तर दुर्गााको मूर्ति बनाएर पूजा गरी आफन्तहरूसँग भेटी मिठा परिकारहरू खाएर दशैँ मनाउने चलन छ। पहिलाको जस्तो चमार ढोल बजाउन आउँदैन। केटाकेटीलाई हिंर र लसुनको बिजुलो बाँधिदिने र बेलुकीसम्म घर बाहिर खेल्न नदिने चलनमा कमी आएको छ। सबै परम्परा र संस्कृतिमा गुण र अवगुण दुईटै हुन्छन् । मलाई मेरो परम्परा मन पर्छ। म आफ्नो परम्पराप्रतति गर्व गर्छु तर आधुनिक युगमा बोकाको बली दिने र बोक्सी प्रथा मान्ने परम्परा मलाई ठीक लागेन । चाडपर्व मनाउनुपर्छ तर अन्धविश्वास र पछौटेपनलाई प्रस्रय दिनु हुँदैन। अन्धविश्वास, पछौटेपन र बली प्रथाबाट मुक्त भएको दशैँ मनाउनुपर्छ। नराम्रो संस्कारलाई त्यागदै राम्रो संस्कारलाई अपनाउँदै दशैँ मनाउनुपर्छ।