भदौ महिनामा नेपालगन्जको राँझा बिमानस्थलबाट बरामद गरेको बहुमूल्य जडिबुटी लिलाम गर्दा देखाएको यार्सा धनीले आरोप लगाएका छन् । उनले करोड बढि मूल्य पर्ने यार्सा गायब पारिएको दाबी गरेका छन् । गत भदौ १६ गते नेपालगन्ज—१६ राँझा स्थित नेपालगंज बिमानस्थलमा डोल्पा बाट नेपालगन्ज आएको समिट बिमानमा आएका जिल्ला डोल्पा ठूलो भेरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० को श्ववर्ण कुमार बुढाबाट यार्सा बरामद गरेको थियो । पक्राउ परेका बुढा र यार्सा प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको थियो । वनले बुढाका बिरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता ग¥यो । जिल्ला अदालत बाँकेले असोज २२ गते ‘हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्री’ को आदेश दिएपछि डिभिजन वन कार्यालयले प्रक्रिया सुरु ग¥यो । सार्वजनिक सूचना जारी गरी गत सोमबार लिलाम गर्ने क्रममा कसैले टेण्डर हालेनन् । टेण्डर हाल्न गएका यार्सा धनी बुढाले आफूबाट बरामद भएको यार्सा फरक देखाइएको बताए । ‘जुन मूल्यको यार्सा हो त्यो गायब पारिएको छ । करोड पर्ने यार्सालाई लाख मूल्यमा झारियो,’ मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनमा बुढाले भने । उनले गायब पारिएको यार्सा खोजी हुनुपर्ने बताए । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेल ले यार्सा फरक परेको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । यार्सा शिल गरिएको र सुरक्षा घेरा भित्र रहेको हुँदा यार्सा फरक पर्न नसक्ने उनको दाबी छ ।
नेपालगन्जलाई ट्रान्जिट बनाएर जडिबुटीको कारोबार हुने गर्छ । त्यसक्रममा प्रहरीले अबैध जडिबुटी पक्राउ गर्दै आएको छ । बुढासँग बरामद गरिएको जडिबुटी पनि बिदेश लैजाने तयारी थियो । तर प्रहरीले पक्राउ गरेपछि मुद्दा दर्ता भयो । बहुमुल्य जडिबुटी आफूबाट बिनाकारण बरामद गरिएको बुढाको दाबी छ ।