एउटा बाँझो निधार
केही आना बाँझो निधार खहरेले ओधार्दै थियो,
र त पोखिदै थिए निधारै मुन्तिर का एक जोडी पंधेरीहरु,
अनि केही मुट्ठी मनहरु हिउँदले निचोर्दै थियो ,र त चिसिदै थिए भक्कानो भित्रका एक जोडी अट्टहास हरु !!
-ए ! आमा तिमी सङ्ग कहिल्यै केही गुनासा छैनन् अह छदै छैनन् ! हुने छैनन् !
तिम्रो पोल्टोमा एक निमेष मात्र निधाउन पाए सन्सार जिते झै लाग्छ ! आमा ,
अनि लाग्छ म संसारकै भाग्यमानी सन्तान र तिमी संसार कै प्यारी आमा !,
तर आमा मलाइ स्वार्थी सन्तान नभने है ?
आमा आज तिमी फिटिक्कै प्यारी लागेकै छैनौं
एकाएक कहिल्लै गुनासो नै नभएकी तिमिसंग आज एउटा ठुलै गुनासो खट्कियो आमा !!
– आंगन ढकमक्क मखमली र थुङ्गे ले सजिदा आँगन – आँगन जस्तै लागेन,
खहरेले उजाडेको बगरमा पुलेको काँश जस्तैः लाग्यो आमा !
गाउँ भरी मधुर गुन्जिएको मालाश्री- मालाश्री झै लागेन!
सारेगम नपुगेको नमिठो फिक्का संगीत जस्तैः लाग्यो आमा !
र तिमी आज कुन्नी किन अप्रिय लाग्यौ आमा,
मलाइ बैनी खै आमा ??
संघारमा ओखर फोरेर मेरो लामो आयु माग्ने मेरि बैनी मलाइ खै आमा !!
म सङ्ग लुट्पुटिदै , चकचक गर्दै, मेरो सिर र गला सजाइदिने मेरि बैनी खै आमा !?
मलाइ मेरि मखमली अनि मेरी सयपत्री खै आमा !!?
अनि सत्रु परास्त को लागि तेलको धर्को कोरिदिने र ओखर फोरिदिने मेरि बैनी खै आमा !?
कमेरो र गेरुले पोतिएका सुन्दर घरका भित्ता – भित्ता नै लागेनन,
मुखियाको ऋणले उम्किन नसकेर अलपत्रै छोडेको बिरेको बुकुरो झै लाग्यो आमा !
बजारै भरी सजिएका सप्तरङ्गी र भाइ मसला – केही लागेनन
लाग्यो त बस् केही काँचा घाउहरु उक्याउदा पोखिएका घिनलाग्दा रक्त मिश्रित माम्री हरु झै आमा !!
आमा !! तिमी पृथ्वी हौ !, सबै दियौं माया दियौ, प्रेरणा दियौ, भाग्य दियौ संसार जित्ने हिम्मत दियौ !
त्यै पनि म आज – आज किन हारिरहेको छु आमा !?
आमा !! फराकिलो निधार दियौ पोतिदिने बैनी दिइनौ !
संघार दियौ , ओखर दियौ, फोरिदिने लोहोरो दिइनौ !
फुल दियौ , घाँटी दियौ, पहिराइदिने हात दिइनौ !!
सबै दियौ , पोल्टो रित्तो हुने गरि दियौ तर बैनी दिइनौ !!
संसार दिने तिम्रो थैलीमा एउटी बैनी नहुदा, मलाइ स्वार्थी सन्तान नभने है ?
र तिमी आज कुन्नी किन अप्रिय लाग्यौ आमा,
– प्रेम पाण्डे ” मनको साथी”