बलीको बोको

प्रकाशित मिति:

कविता
शिर्षक: बलीको बोको 

मणि भट्टराई

मेरो अन्धताको उपयोग गरेर
कसैले छोडिदिन्छ मलाई
युगको पछिल्तिर फर्काएर

हिड्न त हिंडे जस्तो लागिरहन्छ
चढे जस्तो लागिरहन्छ उकालो
‘कहिं पुगें होला अब त’ – यस्तो भइरहन्छ
तर हरेक पटक फेरी उसरी नै
डल्लिंदै डल्लिंदै मेरो यात्रा
कतै आफ्नै पाइतलामै हराइरहन्छ !

पुराना आकांक्षाका क्यालेन्डरहरूबाट
अंकहरू झरेर गए
बुढा ‘बा’ का दाँत जस्तै गरेर,
विश्वासहरू च्यातिएर गए
आमाको थोत्रे पेटिकोट जस्तै भएर,
तै पनि म
त्यही च्यात्तिएको पेटिकोटले बेरिएको छु
गुट्मुटिएको छु त्यसैको न्यानोमा
जति हुर्कें भने पनि म
एक असक्त बालक छु युग युग
लाटो समयको काखमा ।

साला यो जिन्दगी भन्नु पनि
आफ्नै जीजिबिषाको सालनालमा कैद छ
आफ्नै रहरहरूमा पटक पटक शहीद छ
तै पनि
चिल्सा परेका
केही थोत्रा विचारहरूको भर्यांग लगाएर
कामै नलाग्ने केही सपनाहरूको बुईँ चढेर
पुरै संसारै छिचोले जस्तो गरेर
महत्वकांक्षा र अहम्को अँध्यारो तलामा
पटक पटक उक्लन खोजिरहन्छ ।

यहाँ मेरो बहादुरी
मैसँगै डराइरहेछ
उज्यालोको खोजमा निस्केको म
अँध्यारोसँग रमाइरहेछु
अँध्यारो भित्रै हराइरहेछु ।

कस्ले खनिदिन्छ र नयाँबाटो ?
म त पट्टी बाँधिएको युवा पुस्ता हुँ
बानी परेको छु हिंड्न
आफ्नै डडेंल्नो समातेर
उक्लँदा- उक्लन्छु आफ्नै काँधसम्म
झर्दा- ओर्लन्छु आफ्नै पाइतलासम्म ।

म सोच्न सक्छु – तर बोल्दिन
म देख्न सक्छु – तर हेर्दिन
इतिहासले डामेर छोडिदिएको छ मेरो जिब्रो
आफ्नै अज्ञानताले छोपेको छ आफ्नो आँखा
मेरो परम्पराले मलाई
अपराधीलाई पनि
निहुरेर नमस्कार गर्न सिकाएको छ
ऊसको स्वागतमा
परेड खेल्न र बुट बजार्न सिकाएको छ
झुठो हो मेरो वीरताको इतिहहाँस
खासमा मेरो बलिदानीको अर्थ कसैले बुझ्दैन,
सिवाय वलीको बोको ।

सम्बन्धित् समाचार