गृहपृष्ठ Featured दुबै ‘पन्छी’ एकै स्थानमा

दुबै ‘पन्छी’ एकै स्थानमा

प्रकाशित मिति:

विष्णु खत्री / मंसिर २६ सैनामैना -प्रदेश नं ५ को सान अमित बराललाई खुलेर गरौ सम्मान,नेपालको सान लुम्बिनीको पहिचान,आउँदैछन् दुबै पंक्षी एकै स्थान भन्ने नारा मार्फत रुपन्देहीमा गायक पुष्पन प्रधान र नेपाल आईडलका अमित बराललाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यायमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडल सिजन टु को टप फाईभमा पुग्न सफल मुर्गियाका अमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले गायक पुष्पन र अमित दाजुभाई बनेर सैनामैनामा आउँदा निकै खुसी लागेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले अमितले समग्र सैनामैनालाई विश्वसामु चिनाउन सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले अमित देशकै गहना भएको बताए । उनले अमित टप फाईभमा पुग्नु ठुलो उपलिब्ध ठानेको उल्लेख गर्दै उज्जवल भविष्यको कामना गरे ।

कार्यक्रममा पुष्पन र अमितले एकै साथ ‘पन्छी’ ‘बाबुको जुंगो’ ‘ठुल्दाजु’ ‘सुन साईली’ लगायतका गीतहरु प्रस्तुत गरे । ‘पन्छी’ गीतमा पुष्पन र अमितले एकै साथ गाउँदा फ्यान र शुभचिन्तकको घुँईचो नै लागेको थियो । अमितले सबैको अपार माँयाले नै आफु यहाँ सम्म आउन सफल भएको भन्दै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरे । बरालले सम्पुर्ण सैनामैनाबासी लगायत सबैप्रति आफु सधै ऋणि रहेको बताए ।

कार्यक्रममा पुष्पन प्रधानले भने – रुपन्देही बासीको चाहनाको सम्मान गर्दै र अमित आफ्नो जिवनमा विधाता बनेर आएकाले सैनामैनामा सँगै आएको हुँ । गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसा समेत गरे ।

कार्यक्रम अमित बरालका बुवा जिवन बरालको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,गायक पुष्पन प्रधान,नेपाल आईडलको टप ५ मा पुग्न सफल अमित बरालको विशिष्ठ आतिथ्यता,अमितका गुरु बिकाश बोलखे,नेपाल आईडलको टप नाईनमा पुग्न सफल सुर्खेतका सुबिन सिंह,नेकपा नगर संयोजक खुसीराम चौधरी,कांग्रेस नगरसभापति रामप्रसाद अधिकारी,लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सी,सुनगाभा पब्लिक विद्यालयका प्राचार्य तिलब के.सी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम विकाश बोलखेको धन्यवाद ज्ञापन तथा खिम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच प्रभात आवसीय बोडिङ स्कुलमा पुष्पन र अमितलाई एक साथ स्वागत एवम् सम्मान गरिएको छ । प्रभात आवसीय विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका बराललाई विद्यालय परिवारले पुष्प गुच्छा सहित स्वागत गरेको हो । प्राचार्य अनन्तराम शर्माले अमितले सैनामैना गायन क्षेत्रमा पनि अब्बल रहेको कुरा साबित गरेको बताए । शर्माले प्रतिभाको कदर एवम् सम्मान सबैले गर्नुृपर्ने बताउँदै विद्यालय परिवार सदैव सहयोग गर्न तयार रहेको बताए ।

सोमबार दिउँसो भैरहवा एयरपोर्टबाट गृह जिल्ला ओर्लिएका अमित र गायक पुष्पनको स्वागत एवम् सम्मानका लागि विमानस्थलमै बाजागाजा सहितको टोली पुगेको थियो । बाजागाजा सँगैको टोलीलाई सैनामैनामा आमा समुह,क्लव,विद्यालय,सँघ संस्था तथा सैनामैनाबासीले अबिर पुष्प गुच्छा सहित स्वागत गरेका हुन् ।

चर्चामा कसरी आयो ? ‘पन्छी’ 

नेपाल आईडलको यात्रामा प्रतिस्पर्धा गरेका अमितले सबै दर्शकश्रोताको मन मनमा कसरी अट्न सकिएला भन्ने सोचिरहका थिए । उनले कुन गीतमा उत्कृष्ट प्रस्तुति प्रस्तुत गरी सबैको मन जित्न सक्छु होला ? यस्तै सोचिरहन्थे ।

यसैक्रममा उनले देश तथा विदेशमा रहने सम्पुर्ण नेपालीहरुको मन जित्न नेपालीहरुको यथार्थता सँग जोडएको गीत ‘पन्छी’ आईडलको स्टेजबाट गाउने निर्णय गरे ।

उनले बिहिबार ‘पर्फमेन्स डे’ को दिन उक्त गीतमा स्वर दिए । अमितले गायक पुष्पन प्रधानको ‘पन्छी’ गीतमा आईडलको स्टेजबाट उत्कृष्ट स्वर दिएर ‘पर्फमेन्स अफ डे’ समेत बने । निर्णयकहरु न्यू बज्राचार्य,कालिप्रसाद बाँस्कोटा र ईन्दिरा जोशी सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुलाई गीतमार्फत अमितले रुवाए । यो सँगै ‘पन्छी’ ले सर्वत्र चर्चा बटुल्यो ।

अमितले आईडलको स्टेजबाट स्वर दिएपछि पन्छी नामक गीत युटुबमा सबैले सर्च गरी हेर्न सुन्न थाले । यस्तै आईडलको स्टेजमा अमितले पुष्पन प्रधान सँगै एक साथ गीत गाउने अवसर प्राप्त गरे ।

सोही स्टेजबाट पुष्पनले अमितलाई आफ्नो जिवनमा अमित विधाता बनेर आएको समेत उल्लेख गरे । यो सँगै गायक पुष्पन र आईडलका अमित बरालले दर्शक श्रोताको मन जित्दै अपार माँया पाउन थाले ।

नेपाल आईडलबाट उत्कृष्ट ५ बाट अमित एलिमिनेसन भएपछि अमितको गृह जिल्ला रुपन्देही सहित पुष्पन र अमित ‘दुबै पन्छी एकै स्थान’ भनी अन्य जिल्लामा पनि स्वागत एवम् सम्मानका लागि सरिक हुँदैछन् ।

सम्बन्धित् समाचार