काठमाडौँ । सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत २ हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।
१८औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएको छ ।”
यो सम्मानले हिजोका दिन भएको असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
छोटो समयमा सशस्त्र प्रहरीले असाधारण रूपले प्रगति गरेकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार क्रियाशील रहेको बताए । “भ्रष्टाचार रोक्न, नेपाल सरकार र सरकारी निकाय सजक छन्, म आफू गर्दिन, गर्न पनि दिन्न, यसमा कसैको अनुहार हेरिँदैन ।” उनले भने ।
अहिलेको सरकारले राजनीतिक प्रतिशोधका हिसाबले वा कुनै अनुचित हिसाबले भ्रष्टाचारको मुद्दा उठाएको नभई देशलाई भ्रष्टाचारमुक्त गराई विकासका कामलाई अगाडि बढाउने र स्वच्छता तथा पारदर्शी गर्ने कुरालाई ध्यानमा राखेर भ्रष्टाचारको कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताए ।
देश सङ्घीयताको कार्यान्वयनसँगै नयाँ शिराबाट अगाडि बढिरहेको परिप्रेक्षमा सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रुपमा अह्म भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो ।
सबै सुरक्षा निकायसँग समन्वय गरेर कार्य गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले यस सङ्गठनको जनशक्ति विस्तार गर्दै लगिने र सीमा अपराध नियन्त्रणका लागि स्तरवृद्धि गरी ‘बोडर आउटपोष्ट’लाई बढाउँदै लैजाने सरकारी योजना रहेको जानकारी दिए ।
अस्थायी गुल्मलाई स्थायी गर्ने र बाहिनीलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले योजना अघि बढाइएको छ भन्दै उनले अबको सुरक्षा प्रविधिउन्मुख हुने भएकाले समयानुकूल प्रविधि अवलम्बन गरेरसेवा विशिष्टीकरणका लागि सातै प्रदेशमा थप शिक्षालय स्थापना गरिने आश्वासन दिए ।
विपद् व्यवस्थापन तालीम केन्द्रले दक्ष जनशक्ति उत्पादन र खोज उद्धारमा उल्लेखनीय कार्य गरेको छ, यसैअनुरुप उच्च पहाडी र हिमालमा हुने विपद् उद्धारमा उच्च शिखर खोज तथा उद्धार शिक्षालय स्थापना गर्नेतर्फ आवश्यक तयारी भइरहेको छ भन्दै गृहमन्त्री थापाले यसका लागि मन्त्रालयमा योजना पेश गर्नसमेत सशस्त्र प्रहरीलाई निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीका सुझाव र निर्देशनलाई अक्षरशः पालन गर्दै देशको शान्ति र सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताए ।
मह जोडीलाई सम्मान
अठारौँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरीले आज कला क्षेत्रबाट समाज विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठ र पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व सहवीर थापालाई मरणोप्रान्त सम्मान गरिनाका साथै पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
यस्तै रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको ।
रासस