गृहपृष्ठ Featured दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो 

दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो 

प्रकाशित मिति:

चरिकोट । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

खरीबोट

राजधानीबाट नजिक रहेको दोलखामा शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताए ।

कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको उनले बताए ।

हिउँका कारण गाडी सचालनमा आउन नसक्दा कालीञ्चोक हिँडेकाहरू कुरीबाट माथि जान सकेका छैनन् । कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटक होटल समेत भरिभराउ छन् । हाल पनि निरन्तर हिउँ परिरहेको हुँदा कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए । ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालीञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँछ उनले भने ।

कालीञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताए ।

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । अठतीस हजार बयालिस मिटरको उचाइमा रहेको कालीञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । राजधानी काठमाडौँबाट १३३ किमी को सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ ।

हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताए । जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

सम्बन्धित् समाचार