गृहपृष्ठ Featured इँटाको घर – कथा

इँटाको घर – कथा

प्रकाशित मिति:

सबैलाई बनाउनै पर्छ यौटा घर ।
बस्न हुने । सुत्न मिल्ने । पाहुना आउँदा हच्किन नपर्ने । हुरि आउदा दच्किन नपर्ने ।
उसलाई पनि बनाउनु थियो यौटा घर । सानो । चिटिक्कको ।

जमानामा उसका बाजेले हिउँ कोतरेर बनाएका थिए एउटा ओडार । ‘इग्लु’ भन्ने गर्थे उसका बा त्यस ओडारलाई ।
हिँउदमा हिउँपहिरो र हिमपातबाट जोगाउँथ्यो । वर्षामा मुसलधारे वर्षाबाट लुकाउँथ्यो । अगेनो र दाउरा ओभानो बस्थ्यो । ‘इग्लु’ समग्रमा उसको परिवारको लागि न्यानोदायक थियो ! ऊ हिउँकै घरमा बसेर पनि हिउँबाट जोगिन्थ्यो ।

केही वर्ष बिते । आफ्नो सानो परिवारलाई ‘इग्लु’मा हुलेर कतै दूर गएका उसका बा….फर्किएनन् ।
आमै पछिसम्म पनि भनिरहन्थिन्, ….’हिमालले खायो तेरो बाउलाई ।’
हिउँ कोतरेर बनाएको सानो घर थियो उसको हिमालमा । एक साल हिउँले पुरिदियो ।

°°°

  ढुङ्गा र माटो खापेर बनायो, अर्को घर – पहाडको काँखमा ।
बिहानै उठ्थी उसकी बूढी । सिमलीको खरेटोले बुट्टा पार्दै बढार्थी- आँगन । रातो माटोले पोत्थी पिंढी । सेतो कमेरोले रङ्गाएकी थिई, मूलढोका वरपरको भित्ता । तुलसीको मठमा पानी चढाउँथी ।
सानी छोरी भँगेराजस्तै उफ्रदै-उफ्रदै आमाचाहिँले भर्खर पोतेको हिलाम्मे पिंढी कुल्चदै हिंड्थी ।

आमाचाहिँ पोछो समातेको हातसहित झम्टन्थी छोरीलाई ।
छोरी दुगुर्दै पुग्थी उसको काँखमा । लुक्थी उसको छातीमा ।
आमाचाहिंको पोछा उसको मुखमा बज्रन्थ्यो । मुखको हिलो हातले पन्छाउँदै हाँसीरहेका बाउछोरीलाई सराप्दै आमाचाहिँ भैसीगोठतिर लाग्थी । गोबर तबसम्म मलखादमा हुत्याइरहन्थी जबसम्म उसको रिस मत्थर हुँदैनथ्यो ।

ढुङ्गा र माटोले बनाएको घर थियो, पहाडको काँखमा उसको ।
एक साल, भुइँचालोले लडाइदियो ।

°°°
बाँसको कप्टेरामा खर बाँधेको घर थियो । बनको छेउमा उसको ।

उसकी बूढी सबेरै उठ्थी ।
आँखाबाट शीत चुहाउँदै – हेर्थी छोरीको फोटो ।
बिना कुनै जाँगर सोहोर्थी गाइको गोबर ।
गोबर सोहोर्दा-सोहर्दै कुन्नि कुन जोशमा हो/कुन रिसमा हो,  गोबरसहितको हात उसको मुखतिर छर्केर पानी भर्थी – कलको । कल खिच्न नसक्दा अलि परको इनारसम्म पुग्थी । र, ल्याउँथी एक भाँडो पानी । भान्सा छिरेर बनाउँथी आफ्नै जीवनजस्तो स्वादहीन खाना । ऊ जबर्जस्ती निलेर त्यो खाना, निस्कन्थ्यो साहुको खेतमा ।

बाँसको कप्टेरा ठडाएर बनाइएको घर थियो उसको ।
एक साल सर्प छिरेछ काँपबाट ।

°°°
अहिले घर छैन उसँग । परिवार छैन उसँग ।
अहिले केही पनि छैन उसँग आफ्नो भन्नलाई ।
एक ऊ छ जम्मामा उसको ।
नितान्त एक्लो छ…
चुपचाप छ…
नमरुन्जेल बाँचेका बाउ सम्झन्छ ।
नथाकुन्जेल हिंडेकी आमा सम्झन्छ ।
सास हुन्जेल आश राखेकी बूढी सम्झन्छ ।
तपाईं अहिल्यै बूढो हुनु’भाछैन भन्दै सेतो कपाल चुँडालिदिने छोरी सम्झन्छ ।
सिङ्गोमा एउटा ऊ छ …
परिवार सम्झन्छ, घर सम्झन्छ
र…बाँच्न खोजिरहन्छ ।

‘जेजस्तो छु, छु । एउटा घर बनाएर बाँकी जीवन आरामले बिताउँछु । कहिल्यै केही नहुने घर । आकर्षक । चिटिक्कको । सानो एउटा घर । जहाँ परिवारको सम्झना र म मात्रै रहूँ । ‘बिंडी फुक्दा-फुक्दै ऊ अठोट गर्छ ।

‘यै माटोले, यै माटोमा बनाउँछु एउटा पक्की घर । जसलाई भत्काउन नसकोस् कसैले पनि । हिउँपहिरोले पनि । भुइँचालोले पनि । बाढीले पनि । सर्पले पनि । कसैले पनि । केहीले पनि’

अर्को बिंडी फुकीरहँदा ऊ आफूमा एकदम बलियो भइसक्छ । एउटा हठी आत्मविश्वास उसमा आइसक्छ । त्यसपछि निस्कन्छ ऊ – चोकतिर । जहाँ उसलाई चिन्नेहरू उसलाई नचिनेझैँ गरी हेर्दछन् । ऊ गाउँलेका ती अप्ठ्यारो व्यावहार सजिलोसँग चिन्दछ ।

‘इँटा लगाएरै बनाउँछु । इँटाको घर बलियो पनि हुन्छ । आकर्षक पनि ।’
इँटाको आकार र प्रकारको लागि धेरै समय घोत्लिरहन्छ । बिंडी फुकिरहन्छ । घोत्लिनु घोत्लिएपछि ऊ यो निष्कर्षमा पुग्छ, ‘आ, जेसुकै होस् । नबनाउनु बनाइसकेपछि राम्रै इँटाले घर बनाउँछु ।’
अन्ततः देशको नक्साजस्तै इँटाले घर बनाउने निर्णयमा पुग्दछ ऊ ।
‘आखिर मेरो देशको नक्सा पनि त एक चाक्लो इँटाजस्तै त छ ।’ आफ्नो निर्णयप्रति गौरव गर्छ । एक मुस्लो धुवाँ ओकल्छ – शान्तिको । चैनको । आनन्दको ।

°°°
उसको सोचाइअनुरुपको इँटा उसले भेट्टाउँदैन । थुप्रै इँटाभट्टि र इँटा-व्यापारीकहाँ पुग्छ । तर सबले उसलाई निराश बनाइ फर्काइदिन्छन् ।

अन्ततः ऊ एउटा जोखिम मोल्ने मेसोमा लाग्छ । नजिकैको इँटाभट्टिमा काम सिक्छ । र, केही वर्षपश्चात् काम छाडिदिन्छ । केही रकम जम्मा गरिसकेको हुन्छ उसले यतिबेलासम्म । र, बूढी मरेपछि बसिरहेको अर्काको घरको भाँडा पनि बुझाउँछ । घरमालिक खुसी हुन्छ ।

त्यसको केही समयपश्चात् सस्तो दरभाउमा देशको पुछारतिर थोरै जग्गा पनि किन्छ । र, त्यै जग्गामा बनाउँछ टिनले छाएर कामचलाउ कटेज । त्यहीं पकाउँछ खाना । बस्छ । सुत्छ । निदाउँछ । घुर्छ ।

लगत्तै बनाउन सुरु गर्छ इँटा, उसको इच्छाअनुरुपको । देशको नक्शाजस्तै । चाक्लो । लाम्चो । साँघुरो । बनाउदै जान्छ इँटा । बनाउँदै गर्दा उसले चाल पाउँछ देशको सीमा कहिले बढ्ने कहिले घट्ने भइरहेको पनि ।
देशको सीमा घट्दा ऊ दु:खी हुन्छ । ऊ दु:खी हुँदा उसले बनाइरहेको इँटाको आकार खुम्चन्छ । स्वभावत: देशको सीमा बढ्दा ऊ खुसी हुन्छ । इँटाको आकार फुल्छ पनि । देशको सीमा घटबढसँगै ऊ थपघट गरिरहन्छ इँटाको लम्बाइ, चौडाइ, खुम्चाइ र फैलावट ।

थुप्रै आकार र आयतनको इँटाहरू बनाउँछ ।
कुनैमा बर्दिया चेपिन्छ । कुनैमा मोरङ छोपिन्छ । कुनैमा लिपुलेक लुक्छ । कुनैमा दोधारा र चाँदनी भासिन्छ । तर ऊ निरन्तर बनाइरहन्छ इँटा ।

जिउबलले भ्याएसम्मको मेहेनत गरेर एउटा घर बनाउनपुग्ने इँटाहरू तयार पारी छाड्छ । त्यो दिन उसको खुट्टा भुइँमा हुन्न । खुसीले नाच्दछ ऊ । ‘जेजस्तो भए पनि आखिर बनाएरै छाडेँ क्यारे – एउटा घर निर्माणको लागि आवश्यक इँटाहरू ।’ उसको रवाफ बेग्लै हुन्छ अब । छरछिमेक उसँग जल्छन् । उसका सम्मुख चुक्क पनि मुख खोल्न सक्दैनन् । तर उसका पछाडि उसका कुरा काट्नेहरू लगभग सबैसबै हुन्छन् ।

नाप्छ जग्गा । बसाउँछ जग । एकपछि अर्को गर्दै थप्दै जान्छ इँटा ।
एकपछि अर्को गर्दै थप्दै जान्छ इँटा । बनाउदै गर्दा घर, ढलपल ढलपल गरिरहन्छ । तर ऊ निडर रहन्छ । सोच्छ, ‘बनाउँदै गएपछि कसो नबन्ला र?’ झ्यालढोका खाप्छ । प्लास्टर लगाउँछ । रङ पोत्छ । बिजुली जोड्छ ।

तयार हुन्छ घर । खुसी हुन्छ ऊ । आनन्दले बस्न थाल्छ । छरछिमेकी अब उसँग मित्रवत व्यवहार गर्न थाल्छन् । ऊ पनि उनीहरूका पुराना तीता-वचन र टर्रा व्यावहार भुलिदिन्छ ।

°°°

केही वर्ष बित्छ । हिउँपहिरो आएन । बाढी आयो । तर बाढीले हल्लाउन पनि सकेन उसको घर । सर्प छिरेन । भुइँचालोले पनि केही बिगार गरेन ।

ऊ ठेक्कापट्टाको काममा लागिसकेको हुन्छ । दुईछाक मिठोमसिनो खान सक्ने हुन्छ । समाजमा उसको राम्रै इज्जत हुन थाल्छ । यदाकदा सभा या गोष्ठीमा भाषण दिदै ऊ भन्छ, ‘आफू बलियो भएपछि कसैको पनि केही लाग्दैन । कसैले केही बिगार्न सक्दैन । अब मलाई नै हेर्नुस, मसँग के थियो र ? हिमालमा हुँदा बाआमा गुमाए । पहाड झरें । छोरी भुइँचालोमा च्यापिएर मरी । तराई झरें । स्वास्नी सर्पले डसेर मरी । चस्माभित्र चोर औंलो छिराउँछ । आँसु पुस्छ । ‘भएको सबथोक गुमाएँ । बाआमा गुमाएँ । जहानपरिवार पनि गुमाएँ । जिन्दगी पनि धन्नै फ्यालिसकेको थिएँ । तर अहिले हेर्नुस्, म कहाँ छु ? हिम्मत हुनुपर्छ । आँट हुनुपर्छ । जिउमा रगत हुनुपर्छ । जे पनि गर्न सकिन्छ । दुई हात र दुई खुट्टा भएपछि एउटा पेट जसरी ‘नि पालिन्छ ।’

तालीको गड्गडाहट सुनिन्छ । उसको अनुहार उज्यालोले धपक्क बल्छ ।

°°°
एक रात ।
रातको खाना खाएर ऊ बिस्तरामा पल्टिएर पुराना गीतहरू सुनिरहेको थियो, जो उसकी आमा गाउने गर्थिन् । अकस्मात् बाहिर कतै मान्छेका चहलपहल सुनियो । बत्तीको झल्याकझुलुक र चमकचुमुकले ऊ सुविस्ताले बिस्तारामा सुत्न सकेन । ढोका खोल्यो । बाहिर थुप्रै छायाँहरू सल्बलाइरहेका छन् । अचानक ऊ तर्सिन्छ । उसका सम्मुख दुई जुँघामुठे सरकारी प्रहरी उभिएका छन् । र, तिनका पछाडि धुमिल-धुमिल अरु केही मानीसहरू पनि छन् ।

ऊ अलिक पर हेर्छ । केही मान्छे एउटा मोटो र लाम्चो वस्तु हल्लाइरहेका छन् । उसका आखाँ त्यतै अल्झिन्छ ।…उसको शरीर पसिनाले भिज्छ । त्यो मोटो र लाम्चो वस्तु उखेलियो । ऊ थर्थर्ती काम्छ । बरर आँसु झार्छ । कराउँछ । चिच्चाउँछ । डराउँछ ।

ड्याङ्ग !… एक्कासी वातावरणमा बन्दुकको आवाज सुनिन्छ । सुनसान हुन्छ माहोल केही समयको लागि । अचानक उसलाई आफ्नो छातीमुनि कतै दुखेको जस्तो हुन्छ । आँखा चिम्चिम हुन्छ ! प्रस्टसँग ऊ केही पनि देख्न सक्दैन । के भैरहेको हो, बुझ्नै पाउँदैन ।

आफ्नो गोली लागेको छातीमुनिको भाग समाउँदै उठ्न खोज्छ ऊ, गरुङ्गो लात्ती उसको छातीमा पुन: बज्रन्छ । नानाथरी आवाजहरू सुनिन्छन् । वरपर कोलाहलमय वातावरण सिर्जना हुन्छ । मान्छेका अस्पष्ठ कारुणिक आवाज उसका कानसम्म ठोक्किरहन्छ । सँगसँगै अट्टहास भरिएका नमिठा हाँसोहरू कान हुँदै उसको हृदयसम्म पुगिरहन्छ ।  ऊ आफ्नो सम्पूर्ण शक्ति लगाएर मुन्टो उठाउँछ । ऊ यत्ती देख्छ, उसको घर डोजर लगाएर भत्काइदैछ । उसकै सामुन्ने उसको घर क्षणभरमै तहसनहस हुन्छ ।

‘साला! जग्गा मिचेर घर बनाउँदो रहेछ । ल मर् साले! मर् । ए, इस्का लाश चील और कुत्तेको खिलादो  रे ।’ अन्तिमपटक एकपल्ट फेरी बन्दुकको आवाज सुनिन्छ । ड्याङ्ग ।…

सम्बन्धित् समाचार