गृहपृष्ठ Featured यसरी ‘चन्द्रयान–२’ अन्तिम समयमा असफल भएपछि प्रमुख वैज्ञानिक समेत रोए

यसरी ‘चन्द्रयान–२’ अन्तिम समयमा असफल भएपछि प्रमुख वैज्ञानिक समेत रोए

प्रकाशित मिति:

काठमाडौं । शनिबार बिहान भारतीय समयअनुसार करिब पौने दुई बजे । भारतमा मात्र नभएर पूरै विश्वको ध्यान भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ९इस्रो० को बैंग्लोरस्थित मुख्यालयको ठूला पर्दामा थियो । त्यहाँ रहेका वैज्ञानिकहरुको अनुहार बेचैन देखिन्थ्यो ।

एक महिनाअघि प्रक्षेपण गरिएको चन्द्रयान–२ अभियानको निर्णायक घडी नजिकिँदै थियो । अर्थात् भारतले चन्द्रमामा आफ्नो झण्डा फहराउन गइरहेको थियो । अन्तरिक्ष विज्ञानको इतिहासमा अहिलेसम्म अमेरिका, रुस र चीनले मात्र त्यस्तो उपलब्धि हासिल गर्न सफल भएका छन् ।

यस एतिहासिक घडीको साक्षी बस्न भारतीय प्रधानमन्त्री नरेन्द्र स्वयं इस्रो मुख्यालय पुगेका थिए । अन्य वैज्ञानिकहरुको जस्तै उनको आँखा पनि इस्रोकै पर्दामा अडिएको थियो । हेर्दाहेर्दै चन्द्रमामा ओर्लने विक्रम रोबोट चन्द्रमाको कक्षमा रहेको ‘चन्द्रयान–२’ अन्तर्गतको अर्बिटरबाट छुट्टिएर चन्द्रमाको दक्षिणी ध्रुवको सतहतिर सोझियो । सबै दृश्य इस्रोको ठूलो पर्दामा प्रत्यक्ष देखिँदै थियो । विक्रमले चन्द्रमाको सतहमा विचरण गर्ने रोबोट गाडी ‘प्रज्ञान’ पनि बोकेको थियो । तर, एकाएक इस्रो कक्ष चकमन्न बन्यो ।

चन्द्रमामामा अवतरण गर्न दुई किलोमिटर बाँकी रहँदा विक्रमसँगको सञ्चार सम्पर्क टुट्यो । विक्रमसँगको सम्पर्क टुटेसँगै भारतको चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने योजना अवरुद्ध हुन पुगेको छ । इस्रोका अनुसार अर्बिटरबाट छुट्टिएको करिब १३ मिनेटपछि विक्रम सर्म्पकविहीन भएको थियो ।

वैज्ञानिकहरुले गतिलाई कम गर्न नसक्दा विक्रमको चन्द्रमाको सतहमा क्र्यास ल्यान्डिङ भएको आशंका गरेका छन् । विक्रमसँगको सम्पर्क टुटेपछि त्यहाँ रहेका इस्रोका प्रमुख के शिवनलगायतका सबैजना निराश भए । त्यसको केही बेरमा शिवनले मोदीलाई त्यसबारे जानकारी गराए । त्यसलगत्तै निराश देखिएका वैज्ञानिकलाई सान्त्वना दिँदै मोदीले ‘कुनै पनि कठिन समय र संर्घषले केही नयाँ सिकाएर जाने र त्यसले नयाँ प्रविधिको विकास तथा आविष्कारका लागि प्रेरित’ गर्ने बताए । ‘विज्ञानमा असफलता भन्ने हुँदैन, केवल प्रयोग र प्रयास मात्र हुन्छ । हामीले यसबाट पाठ सिक्नुपर्छ । हामीहरु निश्चित रूपमा सफल हुने छौं । सफलता हामीसँग हुने छ,’ मोदीले भने । तर, मोदीले आफ्नो सम्बोधन सकेर बाहिरिँदै गर्दा इस्रो प्रमुख के शिवनले आफूलाई सम्हाल्न सकेनन् र भावविहृवल बने । त्यो देखेर मोदीले शिवनलाई अगाँलो हाल्दै ढाढस दिए ।

त्यसो त चन्द्रयान अभियानअन्तर्गतकै अर्बिटर अहिले पनि सञ्चालनमा रहेको हुँदा अभियान पूर्णरूपमा असफल नभएको दाबी इस्रोले गरेको छ । त्यो अर्बिटरले कम्तीमा पनि एक वर्षसम्म चन्द्रमाको बाहिरी सतहको अध्ययन गर्ने जनाइएको छ । ‘सतहमा अवतरण र विचरण गर्ने विक्रम र प्रज्ञान सम्पर्कविहीन भएका हुन्, अभियानको बाँकी ९५ प्रतिशत त चन्द्रयान–२ अर्बिटर हो, जसले अहिले पनि सफलतापूर्वक चन्द्रमाको परिक्रमा गरिरहेको छ,’ इस्रो स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चन्द्रमामा पहिलो मानव पाइला परेको ठीक ५० वर्षपछि भारतले गत साउन ६ मा ‘चन्द्रयान–२’ को सफलापूर्वक प्रक्षेपण गरेको थियो । दक्षिण भारतीय राज्य आन्ध्रप्रदेशको श्रीहरिकोटस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चन्द्रमामा अवतरण गराउने लक्ष्यसहित ‘जीएसएलवी मार्क–३’ रकेटमार्फत् चन्द्रयान–२ भूउपग्रहको प्रक्षेपण गरिएको हो ।

चन्द्रयान–२ मा परिक्रमा गर्ने, अवतरण गर्ने र सतहमा विचरण गर्ने ९रोभर० गरी तीन मुख्य रोबोट थिए । इस्रोले अन्तरिक्ष यानको अवतरण गर्ने रोबोटलाई सेप्टेम्बरको पहिलो साता चन्द्रमाको दक्षिण ध्रुवमा ओर्लने योजना बनाएको थियो । त्यही योजनाअन्तर्गत नै शुक्रबार राति करिब दुई बजे उक्त रोबोट चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । तर, दुर्भाग्य अवतरण गर्नुपर्ने समयभन्दा केही मिनेटअघि नै रोबोट सम्पर्कविहीन हुन पुग्यो । यदि सफलतापूर्वक अवतरण गर्न सकेको भए रोबोटले चन्द्रको सतहमा विचरण गर्नका लागि रोभर छाड्ने थियो । जसले त्यहाँको सतह, हावापानीका बारेमा अध्ययन गर्ने बताइएको थियो । अभियान सफल भएको खण्डमा चन्द्रमाको सतहमा रोभर ओराल्ने अमेरिका, रूस र चीनपछि भारत चौथो मुलुक बन्ने थियो ।

दस वर्षअघि भारतले ‘चन्द्रयान–१’ अन्तरिक्ष यानलाई चन्द्रमाको बाहिर सतहसम्म पठाउन सफल भएको थियो । यद्यपि, त्यसले चन्द्रमाको सतहमा भने अवतरण गरेको थियो । तर, उक्त यानबाट पनि भारतीय वैज्ञानिकहरू चन्द्रमामा पानी रहेको तथ्य पत्ता लगाउन सपल भएका थिए । यसैबीच, ‘चन्द्रयान–२’ थप आधुनिक भएको दाबी गरिएको छ । पछिल्लो परियोजनाको लागत करिब एक हजार करोड भारु अनुमान गरिएको छ ।

पछिल्लो असफलताले भारतको अन्तरिक्ष अभियानलाई तत्कालका लागि धक्का लागेको छ । किनकि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ भित्र मावनसहितको अन्तरिक्ष यान पठाउने घोषणासमेत गरिसकेका छन् । मोदीको घोषणाअनुसार नै इस्रोले ‘गगन यान’ नामक मानवसहितको अन्तरिक्ष मिसनको कामसमेत अघि बढाइसकेको छ । तर ‘चन्द्रयान–२’ को असफलताले गगन यानको अभियानमाथि पनि आशंका उब्जेको छ ।

यसअघि भारत सरकारले गत जुलाईमा अन्तरिक्षसम्बन्धी अध्ययन र अनुसन्धानलाई थप सघन बनाउने उद्देश्य राखेर आफ्नै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९स्पेस स्टेसन० बनाउने घोषणासमेत गरिसकेको छ । अन्तरिक्षमा रहने यो मानवनिर्मित केन्द्र त्यहाँको वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि महत्त्वपूर्ण मानिन्छ । यहीँ रहेर अन्तरीक्ष वैज्ञानिकहरूले विभिन्न शोध र अनुसन्धान गर्ने गर्छन् ।

सन् १९९८ मा पहिलो पटक यस किसिमको अन्तरिक्ष केन्द्र स्थापना गरिएका थियो । यही केन्द्रमा रहेर अमेरिका, रूस, जापानलगायतका मुलुकका वैज्ञानिकले अन्तरिक्षसम्बन्धी विभिन्न अध्ययन र अनुसन्धान गर्दै आएका छन् । जहाँ ती वैज्ञानिकका लागि अनुसन्धान गर्ने प्रयोगशालाका अतिरिक्त काम गर्ने, खाने, सुत्ने स्थान तथा शौचालय र व्यायामशालासमेत छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार