सदरमुकाम तौलिहवाबाट करिब १२ किलोमिटर दक्षिण सीमावर्ती गाउँ पुन्निहवामा एक बिहानै नेपाली किसान जम्मा हुन्छन्। भारतीबाट लुकाएर ल्याइएको मल किन्ने हानथाप हुन्छ। मोलमोलाई पछि उनीहरू एकाध बोरा रासायनिक मल साइकल वा मोटर साइकलमा राखेर हुँइकिन्छन्। पुन्निहवा आउजाउ कपिलवस्तुका किसानको दैनिकी भएको छ।

यशोधरा गाउँपालिकाको सीमावर्ती गाउँ पुन्निहवा नै रासायनिक मल पाउने केन्द्र हो। स्वदेशमा पर्याप्त मल नपाए पनि धानखेती जोगाउनकै लागि भन्सार नगरिएको मल प्रयोग गर्न किसान बाध्य छन्।
कपिलवस्तुनगरपालिका– १० नेतुहवाका किसान साधुशरण यादवले नेपालमा सजिलै युरिया मल नपाएपछि भारतीय मलकै साहारामा गर्जो टार्नुपरेको बताए। ‘हामी करिब २२ किलोमीटरको दूरी पार गरी एक बोरा मलखाद लिन यहाँसम्म आएका छौं, साधुशरणले भने, ‘टाढा नै भए पनि बल्ल बल्ल युरिया मल पाइयो।’
हरेक दिन बिहान किसान मलखाद लिन सीमावर्ती क्षेत्रको पुन्निहवा गाउँ पुग्छन्। भारतीय बजारबाट खरिद गरी लुकी छिपी ल्याइएको मलखाद महँगो छ। ४५ किलोग्रामको एक हजार मूल्य तिर्नुपर्छ।
‘भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर मल सीमावर्ती नेपाली गाउँ पुन्निहवामा ल्याइन्छ। नेपाली किसानले यहीँबाट किनेर लैजान्छन्’,पुन्निहवा गाउँका एक मल बिक्रेताले बताए।
किसानलाई मल अभाव नौलो होइन। किसानले सास्ती पाएरै बाली जोगाउने गरेका छन्। ‘ न सिँचाइ न मल,’ यशोधरा गाउँपालिका– १ का किसान सुरेन्द्रकुमार नायकले भन्छन, ‘सीमा क्षेत्रबाट यसरी लुकी छिपी मलखाद नल्याउने हो भने त हाम्रो पूरै धानखेती नोक्सान हुन्छ।’ चोरीको मलले किसानलाई राहत दिएको उनले बताए। आफ्नै जिल्लाका नेता कृषिमन्त्री भए पनि समस्या नबुझेको उनको गुनासो छ।
धान खेतमा युरिया मल राख्ने समय भएको छ। बजारमा मल नपाएपछि किसानले अनेक बाटो अपनाएका छन्। सरकारी स्तरबाट मलखाद वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको मल सहकारी संस्था मार्फत सहज ढंगबाट पाउन कठिन छ।
कपिलवस्तुमा धानखेतीका लागि करीब १५ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ। तर धानखेतीको समयमा युरिया मलखाद नआएका कारण हाहाकार मच्चिएको कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा उपशाखाका प्रमुख दिनेश शर्माले बताए। यसरी युरिया मल सरकारले उपलब्ध गराउन नसकेपछि दिनहुँ किसान सीमावर्ती गाउँमा युरिया मलखादको लागि धाउने गरेका छन्।
कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफलमध्ये यसवर्ष ७२ हजार हेक्टर क्षेत्रफलमा किसानले धान खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।