गृहपृष्ठ खबर पानीसमेत नखाइ जितिया पर्वको व्रत बसेकी वृद्धको मृत्यु

पानीसमेत नखाइ जितिया पर्वको व्रत बसेकी वृद्धको मृत्यु

प्रकाशित मिति:

महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए ।

यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय बताउँछन् ।

जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ ।

यस वर्षको जितिया पर्व शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम थियो ।

मिथिलेश देवी शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी थिइन् । उनलाई खानेकुरा वा पानी खानभन्दा पनि मानेकी थिइनन् ।

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिन्छ । जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।

मृतक वृद्धको दुई छोरा रहेकोमा एक जना छोरा रोजगारीको क्रममा भैरहवामा  र अर्को भारतको राजधानी नयाँदिल्ली बस्दै आएका छन् । आइतबार उनीहरु घर आउन नसकेको र आज उनीहरु आउनासाथ अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको  छ ।

 

सम्बन्धित् समाचार